संयुक्त राष्ट्रसंघको महासभा परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान, प्रधानमन्त्री मंगलबार जाँदै

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री खनालको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको हो ।परराष्ट्रमन्त्री खनालको टोलीमा परराष्ट्रसचिव अमृतबहादुर राई, परराष्ट्रकै राष्ट्रसंघ मामिला हेर्ने सहसचिव कृष्णप्रसाद ढकाल, परराष्ट्रका उपसचिव मधुसुधन भट्टराईलगायत न्युयोर्क प्रस्थान गरेका छन् ।

न्युयोर्कमा प्रधानमन्त्री शाहले नेतृत्व गर्नेे नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल सहभागी हुनेछन् । प्रधानमन्त्रीसँग उनका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, निजी सचिव, सुरक्षा टोली रहनेछन् । प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेटवार्ता र महासभाको सत्रलाई सम्बोधन गर्नेबाहेक अन्य कार्यक्रम नभएका कारण सबै उच्चस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनाल सहभागी हुनेछन् । 

न्युयोर्क बसाइका नौ दिनमा परराष्ट्रमन्त्री खनाल ५० भन्दा बढी बैठक र कार्यक्रममा सहभागी हुने सूचीमा गृहकार्य भइरहेको परराष्ट्रका एक अधिकारीले बताए । ‘उहाँले १२ भन्दा बढी मञ्चहरूलाई सम्बोधन गर्नुहुनेछ भने २४ भन्दा बढी द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ,’ परराष्ट्रका अधिकारीले भने । उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर, चिनियाँ उपप्रधानमन्त्री हे लिफेङलगायतसँग भेटवार्ता गर्ने तयारी छ । 

प्रधानमन्त्री शाह मंगलबार न्युयोर्क जाने तय भएको छ । ‘न्युयोर्कमा रहँदा परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ । उहाँले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुनेछ,’ परराष्ट्रमन्त्री खनालका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले भने । यसपटक राष्ट्रसंघमा प्रधानमन्त्री नेतृत्वको १४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ । पछिल्लो समय प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागिता जनाउन जानेमध्येको कम संख्या रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार