संकटमा पनि सेवा प्रवाह गर्न सक्ने दिगो डिजिटल प्रणालीमा सञ्चारमन्त्रीको जोड

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपत् तथा संकटका समयमा समेत नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्ने गरी दिगो एवं  उत्थानशील डिजिटल प्रणालीको निर्माणमा जोड दिएको बताएका छन्।

आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’लाई सम्बोधन गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीले जनधन, समुदाय र भौतिक पूर्वाधारमा पुर्याएको क्षतिसँगै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय र राष्ट्रिय तयारीको समेत परीक्षण गरेको बताए।

पछिल्ला वर्षहरूमा डिजिटल रूपान्तरणलाई मुख्यतः सुविधा, दक्षता र आधुनिकीकरणसँग जोडेर हेर्ने गरिएको भए पनि हालैका विपत् अनुभवले डिजिटल प्रणालीको निरन्तरता, विश्वसनीयता र संकट प्रतिकार्य क्षमतालाई समान प्राथमिकता दिनुपर्ने आवश्यकता देखाएको औँल्याए।

विपतका क्रममा प्राप्त अनुभवले भौतिक पूर्वाधारको संरक्षणसँगै सूचना तथा सञ्चार प्रणालीको सुदृढीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने देखाएको मन्त्री तिमिल्सिनाको भनाइ थियो। उनले संकटका समयमा सूचना पूर्वाधारजत्तिकै महत्त्वपूर्ण हुने, सञ्चार यातायातजत्तिकै आवश्यक पर्ने, विश्वसनीय तथ्यांक निर्णय प्रक्रियाको आधार बन्ने र सार्वजनिक विश्वास प्रविधिको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिने प्रस्ट्याए।

सञ्चारमन्त्री तिमिल्सिनाका अनुसार डिजिटल रूपान्तरणको आगामी चरणमा सरकारले विपत् प्रतिकार्य, सूचना व्यवस्थापन र नागरिकको सार्वजनिक सेवामा पहुँचलाई एकीकृत रूपमा अघि बढाउने गरी काम गरिरहेको छ। जसबाट नेपालका डिजिटल प्रणालीले सामान्य दिनमा मात्र नभई सबैभन्दा कठिन परिस्थितिमा समेत नागरिकको आवश्यकता सम्बोधन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने धारणा उनले व्यक्त गरे।

सुझावित समाचार