छथरजोरपाटीमा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

धनकुटाको छथरजोरपाटी गाउँपालिका– ३, बन्चरेमा आइतबार बिहान सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा छथरजोरपाटी– ३ की ६० वर्षीया शोकमाया लिम्बू रहेकी छिन्। छथरजोरपाटीको काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को.१ज २४९४ नम्बरको सुमो ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले बताएको छ। मृतकको शव पोस्टमार्टमका लागि धनकुटा ल्याइएको छ।

दुर्घटनामा अन्य १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए। घाइते हुनेमा सवारीचालक धनकुटा– ९, गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री, ४० वर्षीया धनमाया राई, उनका सात वर्षीय छोरा न्युहाङ सुब्बा, ३३ वर्षीया पुनम लिम्बू, उनकी छोरी दुई वर्षीया आरध्या लिम्बू, २६ वर्षीय आइन्द्र लिम्बू, २७ वर्षीय भवानी लिम्बू, ४७ वर्षीय हेमबहादुर लिम्बू, ३० वर्षीय अविन लिम्बू र २१ वर्षीय आशिष लिम्बू रहेका छन्।

घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले बताएको छ। घाइतेमध्ये आशिषको अवस्था गम्भीर छ भने अन्यको मध्यम रहेको प्रहरीले बताएको छ। उनीहरूको प्रायः टाउको र शरिरको बाहिरी अंगमा चोटपटक लागेको छ।
 

सुझावित समाचार