भदौमा ६ अर्ब ३५ करोड विदेशी लगानी प्रतिबद्धता

पर्यटन, सेवा र सूचना प्रविधिका साना आयोजनामा लगानीको प्रतिबद्धता धेरै

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

उद्योग विभागका अनुसार भदौमा एक सय ३६ परियोजनामा ६ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । 

अटोमेटिक रुटबाट एक सय ३५ परियोजनामा ६ अर्ब २७ करोड १५ लाख २१ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । स्वीकृति प्रक्रियामार्फत एक परियोजनामा आठ करोड रुपैयाँको प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । एक सय ३४ साना र दुई ठुला परियोजनामा लगानीको प्रतिबद्धता आएको विभागको भनाइ छ । 

साउनमा भने एक सय ९१ परियोजनामा तीन अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । चालू आव ०८३/८४ को दुई महिनामा कुल तीन सय २८ परियोजनामा ११ अर्ब १२ करोड ४४ लाख पाँच हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यसमध्ये तीन सय २३ साना, दुई मझौला र तीन ठुला परियोजना छन् । यी परियोजनामार्फत तीन हजार चार सय ४७ ले रोजगारी दिने रोजगारदाताको दाबी छ ।

गत आवको पहिलो दुई महिनामा दुई सय ३६ परियोजनामा ३३ अर्ब नौ करोड २० लाख ५४ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । त्यसमध्ये साउनमा एक सय २७ परियोजनामा २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ र भदौमा एक सय नौ परियोजनामा आठ अर्ब ९८ करोड ७० लाख ५९ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । गत आवमा कुल ११ सय १६ परियोजनामा ५८ अर्ब १० लाख ८५ हजार रुपैयाबराबरको लगानी आएको थियो । 

उद्योग विभागमार्फत आएका वैदेशिक लगानीका प्रमुख क्षेत्र
रकमका आधारमा पर्यटन र सेवा क्षेत्रमा विदेशी लगानीको आकर्षण देखिएको छ । तथ्यांअनुसार दुई महिनामा पर्यटनका ७० परियोजनामा तीन अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यसैगरी, सेवा क्षेत्रका २६ परियोजनामा तीन अर्ब ३० करोड ५४ लाख ३८ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।

संख्याका आधारमा भने सूचना प्रविधिमा उच्च आकर्षण छ । दुई महिनामै सूचना प्रविधिका दुई सय १२ परियोनजामा लगानी प्रतिबद्धता आएको छ । लगानी रकम भने ८१ करोड ६९ लाख १७ हजार रुपैयाँ उल्लेख गरिएको छ ।  तथ्यांकअनुसार उत्पादनमूलक क्षेत्रका १८ परियोजनामा एक अर्ब २३ करोड ९२ लाख रुपैयाँ, ऊर्जाको एउटा परियोजनामा दुई अर्ब रुपैयाँ र कृषिको एउटा परियोजनामा दुई करोड लगानी प्रतिबद्धता आएको छ ।

भदौमा ६५ उद्योग दर्ता 
विभागका अनुसार भदौमा ६५ उद्योग दर्ता भएका छन् । साउनमा भने ७७ उद्योग दर्ता भएका थिए । यसरी चालू आवको दुई महिनामा एक सय ४२ उद्योग दर्ता भएका छन् । 

सुझावित समाचार