लुम्बिनी प्रदेश लोकसेवामा आकर्षण बढिरहेको छ । ०८२/८३ मा ११ सय ६४ पदका लागि विज्ञापन आह्वान हुँदा ८९ हजार ३१ जनाले दरखास्त दिएका छन् । आह्वान भएको विज्ञापनमा अन्तरतह, खुला तथा समावेशीतर्फ ८६३ र बढुवातर्फ ३०१ पद थिए । आयोगले स्थायी नियुक्तिका लागि विभिन्न तहमा २६० जना उम्मेदवारलाई सिफारिस गरेको छ ।
आयोगले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सातौँ वार्षिक प्रतिवेदन पेस गर्दै संघीय निजामती सेवा ऐन तर्जुमा भएपछि प्रदेश तथा स्थानीय निजामती सेवा कानुनमा देखिएका द्विविधा र दोहोरोपन हटाई कानुनी एकरूपता कायम गर्न सुझाव दिएको छ ।
समावेशी समूहअन्तर्गत पिछडिएको वर्ग तथा क्षेत्र, सीमान्तकृत, लैंगिक तथा यौनिक अल्पसंख्यक र विपन्न खसआर्यका लागि आरक्षण तथा सहुलियतको व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायबाट समयमै सूचना प्रकाशन गरी आवश्यक परिचयपत्रको व्यवस्था गर्न पनि आयोगले सुझाव दिएको छ ।