१० भदौको भोटेकोशी बाढीमा बेपत्ता नयाँ पत्रिकाकर्मी टेकराज थामीको शनिबार अन्त्येष्टि गरिएको छ । २४ दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवार र आफन्तजनले तत्कालीन परिस्थितिको मूल्यांकन गर्दै कुशको शव बनाएर थामी संस्कारअनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरेका हुन् ।
जुझारु पत्रकार थामीको अन्तिम बिदाइमा ठुलो संख्यामा सञ्चारकर्मी उपस्थित थिए । थामीको अन्त्येष्टिमा नेपाल पत्रकार महांसघका अध्यक्ष निर्मला शर्माले महासंघको झन्डा ओढाइन् । त्यस्तै, परिवारका सदस्य, आफन्त, छरछिमेकीको पनि बाक्लो उपस्थिति थियो ।
सीमावर्ती देश चीनको केरुङमा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा टिमुरे पुगेका थामी बाढीमा बेपत्ता भएका थिए । उनी ९ भदौमै टिमुरे पुगेका थिए । १० भदौको बिहान उनी केरुङ प्रवेश गर्ने कार्यक्रम थियो । तर, बिहान बाढी आएदेखि उनी सम्पर्कविहीन भएका थिए । नेपाल र चीन दुवैतर्फ उनको खोजी गरिएको थियो ।
खोजमूलक पत्रकारिता गर्दै आएका थामी एक दशकभन्दा लामो समयदेखि नयाँ पत्रिकामा कार्यरत थिए । जिउँदा मान्छेहरूलाई इँटाभट्टामा जलाउने अफ्ताव आलमबारे रौतहट पुगेर जोखिमपूर्ण समाचार लेखेका थामीले मधेशका खुँखार मिटरब्याजीदेखि पीडितसम्मको रिपोर्टिङ गरे । दोलखा घर भएका उनी पत्रकारिता विषय अध्यापन पनि गराउँथे । हाल उनको परिवार भक्तपुरमा बस्दै आएको छ । थामीका श्रीमती र एक छोरी छन् ।
पत्रकारितामा जोखिम मोल्ने क्षमता
पत्रकार थामी किराँत समुदायभित्रको लोपोन्मुख थामी समुदायबाट प्रतिधित्व गर्ने एक अब्बल पत्रकार थिए । उनले गोरखापत्र दैनिकमा थामी भाषाको स्तम्भसमेत हेर्थे भने दुई दशकदेखि पत्रकारितालाई नै पूर्णकालीन पेसाका रूपमा अँगाल्दै आएका थिए ।
१ वैशाख ०४२ मा दोलखाको कालिन्चोक गाउँपालिका– २ स्थित बाबरेमा बुबा दिलबहादुर थामी र आमा माया थामीबाट जन्मिएका उनको बाल्यकाल सामान्य तरिकाले बितेको थियो । स्कुल तहमा पढ्दादेखि नै विभिन्न लेख–रचना लेख्ने र सिर्जनात्मक कार्यक्रममा भाग लिने गर्ने उनको कविता ०५५/५६ तिरै कान्तिपुर दैनिकको कोसेलीमा छापिएको थियो ।
कविता प्रकाशित भएपछि लेखनमा झन् रुचि बढ्दै गयो । पत्रपत्रिकामा लेख्दालेख्दै र पढ्दापढ्दै उनलाई सत्यको उजागर गर्ने र आवाजविहीनको आवाज बोल्ने पेसा पत्रकारिता नै गर्ने इच्छा जाग्यो ।
०६१/६२ तिर रेडियोबाट पत्रकारिता थालेका थामी ०६४ तिर सगरमाथा टेलिभिजनमा जुनियर रिपोर्टरका रूपमा प्रवेश गरेका थिए । त्यहाँ उनले करिब डेढ वर्ष काम गरेपछि उनी एबिसी टेलिभिजनमा आबद्ध भए । त्यसपछि केही समय सौर्य दैनिकमा आबद्ध भए भने पछिल्लो एक दशकभन्दा लामो समयदेखि नयाँ पत्रिका दैनिकमा आबद्ध थिए । नयाँ पत्रिकामा एक दशकको यात्रामा अपराध, सुरक्षा, सामाजिकलगायत विषयमा समाचार लेखे ।
जिउँदा मान्छेहरूलाई इँटाभट्टामा जलाउने अफ्ताव आलमबारे रौतहट पुगेर जोखिमपूर्ण समाचार लेखेका थामीले मधेशका खुँखार मिटरब्याजीदेखि पीडितसम्मको रिपोर्टिङ गरे । उनकै रिपोर्टिङको दबाबका कारण एक लाखभन्दा बढी पीडित न्याय पाउने प्रक्रियामा छन् ।
त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर उत्तीर्ण उनी कैयौँ पारिवारिक चुनौती र संघर्षबाट उठेर पत्रकारितामा जमेका थिए । भक्तपुरस्थित वागीश्वरी कलेजमा स्नातक तहमा पत्रकारिता विषयसमेत अध्यापन गर्दै आएका थिए । थामी प्रेस काउन्सिल पुरस्कार, राष्ट्रपतिबाट पदक पुरस्कार, काठमाडौं महानगर सुशासन पुरस्कार, फोनिज पुरस्कारलगायतबाट सम्मानित भएका थिए ।
नयाँ पत्रिकाले थामीको परिवारलाई ३० महिनाको बेसिक तलब उपलब्ध गराउने
भोटेकोशी बाढीमा बेपत्ता भएका सहकर्मी टेकराज थामीको परिवारलाई नयाँ पत्रिका दैनिकले ३० महिनाको बेसिक तलब उपलब्ध गराउने भएको छ । नयाँ पत्रिका प्रकाशन प्रालिले थामीको परिवारलाई ३० महिनाको बेसिक तलब उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै, नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठानको नेतृत्वमा खोलिएको ‘नयाँ पत्रिका कोष’बाट एक लाख उपलब्ध गराउने निर्णय भएको शाखाले जनाएको छ । संस्थामा कार्यरत सहकर्मीहरूले दुई दिनको तलबबराबरको रकम सहयोग गर्ने निर्णय गरेका छन् ।
बेपत्ता पत्रकारका परिवारलाई पत्रकार महासंघको जनही एक लाख सहयोग
भोटेकोशी बाढीमा बेपत्ता भएका नयाँ पत्रिका सहकर्मी थामीसहितका पत्रकारलाई नेपाल पत्रकार महासंघले जनही एक लाख सहयोग गर्ने भएको छ । महासंघले शुक्रबार थामीसहित बाढीमा परिवार र घरवास गुमाएका पत्रकार नीराजन पौडेल, भक्तपुर महासंघ शाखाका पूर्वसल्लाहकार शेखर ढुंगाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई एक–एक लाख सहयोग गर्ने निर्णय गरेको हो ।
अन्य प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको क्षतिको विवरण संकलन भइरहेको र आवश्यकताका आधारमा मापदण्ड तयार गरी सहायता उपलब्ध गराउने महासंघले जनाएको छ ।