सडक छेउमा रहेका खाली जग्गाको सदुपयोग गर्दै धनकुटा नगरपालिकाले बेसार खेती विस्तार अभियान सुरु गरेको छ। स्थानीय किसान तथा सामुदायिक वन समूहलाई कृषि उत्पादनतर्फ प्रोत्साहित गर्ने र सडकआसपासका खाली जमिनलाई उत्पादनसँग जोड्ने उद्देश्यले नगरपालिकाले अभियान सञ्चालन गरेको हो।
अभियानअन्तर्गत कोशी लोकमार्गको धनकुटा–हिले सडकखण्डमा पर्ने सरस्वती चोकदेखि सल्लेरीसम्म करिब सात रोपनी क्षेत्रमा बेसार खेती गरिएको छ। नगरभित्रका अन्य भित्री सडकका छेउछाउमा रहेका खाली जग्गामा समेत बेसार खेती विस्तार गरिएको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए।
उनका अनुसार बेसार खेतीले खाली जमिनको सदुपयोगसँगै सडकआसपासको वातावरणलाई हरियाली, स्वच्छ र आकर्षक बनाउन सहयोग पुग्नेछ। पछिल्लो समय धनकुटामा बढ्दै गएको बाँदर आतंकका कारण किसानले विभिन्न बालीमा क्षति व्यहोर्न थालेपछि वैकल्पिक खेतीका रूपमा बेसारतर्फ आकर्षित गर्नसमेत अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
सामुदायिक वन तथा किसान समूहलाई प्रोत्साहित गर्दै नमुनाका रूपमा सुरु गरिएको बेसार खेतीबाट उत्पादन हुने बिउलाई आगामी दिनमा नगर क्षेत्रका सरकारी तथा ऐलानी जग्गामा खेती विस्तार गर्न प्रयोग गर्ने योजना नगरपालिकाको छ। उत्पादित बिउ बेसार खेती विस्तार गर्न चाहने कृषक समूहलाई वितरण गरिने जनाइएको छ।
बेसार खेती विस्तारका लागि नगरपालिकाले स्वरोजगार कार्यक्रममा आबद्ध व्यक्तिलाई परिचालन गरेको छ। उनीहरूले नियमित रूपमा बेसारको गोडमेल तथा रेखदेख गर्नुका साथै सडक क्षेत्रको सरसफाइ, फलफूलका बिरुवा रोप्ने र छाँटकाँट गर्ने कामसमेत गर्दै आएका छन्।
नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकिलो एक सय रुपैयाँका दरले एक सय किलो बेसारको बिउ खरिद गरेको थियो। उक्त बिउबाट विस्तार गरिएको खेतीलाई आगामी वर्षहरूमा थप क्षेत्रसम्म पुर्याउने लक्ष्य नगरपालिकाले लिएको छ।
नगरपालिकाका अनुसार बेसार खेती विस्तार अभियानले खाली जमिनलाई उत्पादनसँग जोड्नुका साथै सडक आसपासको हरियाली र सौन्दर्य बढाउन तथा स्थानीय स्तरमा कृषि गतिविधि प्रवर्द्धन गर्न सहयोग पुग्नेछ।