सल्यानकाे त्रिवेणी गाउँपालिकाले पालिकाभित्रका तीन हजार पाँच सय आवासीय घरको निःशुल्क बिमा गर्ने भएको छ। बाढी, पहिरो, भूकम्प,आगलागी, चट्याङलगायतका विपद्बाट घरमा हुन सक्ने क्षतिबाट नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले बिमा कार्यक्रम सञ्चालन गर्न लागेको हो।
सम्झौताअनुसार बिमा कार्यक्रम २०८४ साल असार मसान्तसम्म लागू हुनेछ। पालिकाभित्रका कच्ची तथा पक्की आवासीय गरी तीन हजार पाँच सय घरधुरी समेटिनेछन्। प्रत्येक घरको बिमांक प्राविधिकबाट गरिने विस्तृत लागत मूल्यांकनका आधारमा निर्धारण गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले विपतका कारण घरमा क्षति पुगेपछि नागरिकले व्यहोर्नुपर्ने आर्थिक भार कम गर्न कार्यक्रम सञ्चालन गरिएको बताए। नागरिकको महत्वपूर्ण सम्पत्तिका रूपमा रहेको घरलाई विपतबाट हुने जोखिमबाट सुरक्षित गर्न बिमा कार्यक्रमले सहयोग पुग्ने उनले बताए।
प्रमुख प्रशासकीय अधिकृत खुमराज केसीले प्राविधिकबाट घरको विस्तृत लागत मूल्यांकन गराएपछि सोही आधारमा बिमांक निर्धारण गरिने बताए। घरधुरीको विवरण संकलन गरी आवश्यक प्राविधिक प्रक्रिया पूरा गरेर बिमा कार्यान्वयन गरिने उनले जानकारी दिए।
नेको इन्स्योरेन्स सल्यान शाखाका प्रमुख नारायण दाहालले सम्झौताअनुसार बिमा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक सहजीकरण गरिने बताए । पालिकासँग समन्वय गरी बिमा प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ। बिमा योजनाले बाढी, पहिरो, भूक्षय, भूकम्प, चट्याङ र आगलागीलगायतका विपतबाट घरमा हुने क्षतिलाई समेट्नेछ । यसअघि शारदा नगरपालिकाले पनि आवासीय घरको निःशुल्क बिमा कार्यक्रम सञ्चालन गरेको थियो ।