चितवन निकुञ्जको चर्चित जंगली हात्ती ‘रोनाल्डो’ मृत फेला

मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण
चितवन निकुञ्जको चर्चित जंगली हात्ती ‘रोनाल्डो’ मृत फेला

फाइल तस्बिर

  • हात्ती प्रजनन केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान

चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। निकुञ्जको विषहजारी पोस्टनजिकै बीसहजारी ताल तथा कुमाल ताल क्षेत्रमा शनिबार बिहान रोनाल्डो मृत भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापामगरले जंगली भाले हात्ती मृत फेला परेको जानकारी प्राप्त भएको बताए । उनका अनुसार हात्तीको मृत्यु के कारणले भएको हो भन्ने एकिन भइसकेको छैन ।

मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान गरिने सूचना अधिकारी थापाले बताए । रोनाल्डोको मृत्यु स्वाभाविक हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने उनको भनाई छ ।

रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि परिचित जंगली भाले हात्ती हो  । रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा वंश विस्तारका दृष्टिले महत्वपूर्ण जंगली भाले हात्ती मानिन्थ्यो । निकुञ्जको विवरणअनुसार २०८३ असारसम्म खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान हुन् ।

यस आधारमा केन्द्रमा जन्मिएका आधाभन्दा बढी छावाको बाबु रोनाल्डो रहेको निकुञ्जको विवरणले देखाउँछ । प्रजनन केन्द्रमा रहेका पोथी हात्तीबाट छावा जन्माउन रोनाल्डोको उल्लेख्य भूमिका रहँदै आएको थियो ।

सुझावित समाचार