नवलपुरको हुप्सेकोट गाउँपालिका– ६, प्लेगामा पहाडबाट निरन्तर धुवाँ आएपछि अध्ययनका लागि भूगर्भविदको टोली नवलपुर आइपुगेको छ। खानी तथा भूगर्भ विभाग, नाष्ट र धौवादी फलाम खानीका चारजना सम्मिलित विज्ञ टोली नवलपुर आएको हो।
टोलीले भोलि बुधबारदेखि नै उक्त स्थानमा अध्ययन सुरु गर्ने बताइएको छ। यहाँ करिब ६ महिनाअघिदेखि जमिनमुनिबाट धुवाँ निस्किरहेको छ। उक्त क्षेत्रमा डढेलो लागेजस्तो भएको छ।
केही दिनअघि संसदमा यस विषयमा कुरा उठेपछि सरकारले अध्ययन टोली पठाएको हो। मंगलबार यस विषयमा टोलीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारी र पत्रकारहरूसँग छलफल गरेको छ।