अपहरणमा परेको १२ दिनपछि धनुषाको विदेह नगरपालिका– ६ का १५ महिने बालक सिद्धान्त महतोको प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत १८ भदौमा कमलेश महतोका १५ महिने छोरा सिद्धान्त अपहरणमा परेका थिए। प्रहरीले खोजतलास तथा अनुसन्धानका क्रममा गएराति विदेह नगरपालिका– १ स्थित दशगजा क्षेत्रबाट बालकलाई सकुशल उद्धार गरेको हो।
बालकलाई छाडेर भाग्न खोजेको अवस्थामा कमला नगरपालिका– ९ की पुनितादेवी पासवानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
बालक अपहरणमा परेको सूचना प्राप्त भएलगत्तै तालिमप्राप्त कुकुरसहित प्रहरी टोलीले खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा बालकलाई राखिएको स्थान पत्ता लगाएपछि प्रहरी टोली त्यहाँ पुगेको र भाग्न खोज्दै गरेकी पासवानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ। पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।