संसद् पाँच वर्ष जाने कुनै ग्यारेन्टी छैन : लिङ्देन

मंगलबार, ३० भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको संसद् पाँच वर्षसम्म चल्ने कुनै ग्यारेन्टी नभएको दाबी गरेका छन्।

मंगलबार महेन्द्रनगरमा राप्रपा कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान संसद्समेत आफ्नो पूर्ण कार्यकालसम्म नजाने दाबी गरेका हुन्।

अहिले देशमा प्राकृतिक संकटसँगै राजनीतिमा समेत संकट उत्पन्न भएको र भूराजनीतिक हिसाबले जटिलता बढ्दै गएकाले संसद्ले आफ्नो पूर्ण अवधि पूरा गर्नेमा आशंका व्यक्त गरेका छन्।

गत २१ फागुन ०८२ मा भएको निर्वाचनमा जनता कुनै दलका नभएको बताउँदै लिङ्देनले आँधी–हुरीका बिच पनि राप्रपा जोगिएकाले देशलाई राप्रपाको आवश्यकता रहेको संकेत गरेको बताए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै त्यसलाई ‘कुहिरोमा हराएको काग’जस्तै भएको टिप्पणी गरे। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले रास्वपाले बहुमत ल्याए पनि सामान्य प्रशासनसमेत सञ्चालन गर्न नसकेको आरोप लगाए।

विगतमा जनताले माओवादीको बन्दुक र अहिले रास्वपाको ‘फेसबुकको डर’का कारण प्रश्न गर्न नसक्ने अवस्था रहेको उनको दाबी थियो।

लिङ्देनले आगामी महाधिवेशनबाट राप्रपा थप सुधारिएको र बलियो पार्टी बन्ने विश्वास व्यक्त गरे। पार्टीभित्रको आन्तरिक विवादका कारण पार्टी चुस्तदुरुस्त रूपमा सञ्चालन हुन नसकेको बताउँदै उनले बागमती प्रदेशमा पार्टीको निर्णयविपरीत राप्रपाका सांसद सरकारमा सहभागी भएको उल्लेख गरे।

See More On

सुझावित समाचार