गत वर्ष भदौमा भएको जेन–जी आन्दोलनका वेला सुदूरपश्चिमका विभिन्न कारागारबाट भागेका तीन सयभन्दा बढी कैदीबन्दी अझै फरार छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार यहाँका जिल्ला कारागारहरूबाट भागेका एक हजार ४५८ कैदीबन्दीमध्ये ३१८ जना अहिले पनि फरार छन्।
भागेका कतिपय कैदीबन्दीको आपराधिक गतिविधिमा संलग्नता देखिने गरेको छ। सुदूरपश्चिमका कारागारबाट भागेका एक हजार १४० जना कैदीबन्दी भने कारागार फर्किएका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टले बताए। भागेका केही कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको हो भने केही आफैँ कारागार फर्किएका हुन्। फरार कैदीबन्दीमा विदेशी नागरिकसमेत छन्।
सबैभन्दा बढी कैलाली कारागारका २०२ जना कैदीबन्दी फरार छन्। जेन–जी आन्दोलनको दिन गत वर्ष २४ भदौमा कैलाली कारागारबाट ६६५ जना कैदीबन्दी भागेका थिए। आन्दोलनका क्रममा आन्दोलनकारी प्रवेश गरेर सुरक्षा व्यवस्था प्रहरीको नियन्त्रणबाहिर गएपछि कैदीबन्दी भागेका हुन्। फरार रहेकामध्ये १९ जना भारतीय नागरिक रहेको कैलाली कारागारका नायबसुब्बा वसन्त जोशीले बताए। उनीहरू लागुऔषधलगायत विभिन्न मुद्दामा कारागारमा थिए।
११ जना महिला पनि फरार रहेको जोशीले जानकारी दिए। आन्दोलनको दिन कैलाली कारागारमा २६६ जना महिला कैदीबन्दी रहेकोमा एकजना मात्र भागेकी थिइनन्। भागेकामध्ये केही आफैँ फर्किएका र केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको कारागार प्रशासनले जनाएको छ। कारागार फर्किएका केही कैदी भुक्तान गरेर छुटिसकेका पनि छन्। आन्दोलनका क्रममा कारागारमा तोडफोडसमेत भएको थियो।
कञ्चनपुर कारागारबाट भागेका ८६ जना कैदीबन्दी अझै फरार छन्। कारागार प्रशासनका अनुसार जेन–जी आन्दोलनका वेला कारागारमा रहेका ४७८ कैदीबन्दीमध्ये १७ जनाबाहेक सबै भागेका थिए। बाँकी फरार कैदीबन्दी सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका कारागारका हुन्। भागेका कैदीबन्दीलाई फर्कन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै आएका छन्।
विभिन्न आपराधिक गतिविधिमा संलग्न ठुलो संख्याका कैदीबन्दी कारागारबाहिर हुँदा त्यसले सुरक्षा चुनौती बढाएको सुरक्षा अधिकारीहरू बताउँछन्। फरारमध्ये धेरैजसो लामो अवधि कैद भुक्तान गर्न बाँकी रहेका र जघन्य अपराधमा संलग्नहरू रहेका बताइएको छ। भागेका धेरैजसो कैदीबन्दी खुला सिमानाका कारण भारत गएको हुन सक्ने अनुमान छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता विष्टले फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन सुरक्षा निकायले सीमानाकाहरूमा निरन्तर निगरानी गर्दै आएको बताए। त्यस्तै, सादा पोसाकमा प्रहरी परिचालन गरेर फरार व्यक्तिको सूचना संकलन गर्ने गरिएको उनले बताए।
‘सीमा क्षेत्रमा बोर्डर क्राइम कन्ट्रोल टिमले निगरानी गर्दै आएको छ। फरार कैदीबन्दीको विवरण सबै प्रहरी युनिटहरूमा पठाएका छौँ। पक्राउ गर्न सादा पोसाकमा प्रहरी परिचालन गर्ने, सूचना संकलन गर्ने काम पनि भइरहेको छ,’ विष्टले भने, ‘धेरैजसो कैदीबन्दीलाई पक्राउ गरेर कारागार बुझाएका छौँ।’
जेन–जी आन्दोलनमा ठुलो संख्यामा कैदीबन्दी भागेकाले गत फागुनको चुनावमा फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा हेरिएको थियो। चुनाव भने यहाँ शान्तिपूर्ण रह्यो।