आइतबार १० बजेसम्मका प्रमुख १० खबर

आइतबार, २८ भदौ, २०८३
डिजिटल संस्करण

१५ दिनपछि कृष्णभिरको सडक आंशिक सञ्चालनमा

१४ भदौमा आएको बाढीले सडक कटान गरेपछि बन्द रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्ड १५ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको छ। सडक विभागले नयाँ ट्रयाक बनाएर सडक सञ्चालनमा ल्याएको हो। 

आइतबारदेखि एकतर्फी रूपमा सडक सञ्चालन गरी सुरुमा ग्यास बुलेट र ठुला गाडी पास गराइएको छ। आकस्मिक अवस्थाका लागि सडक प्रयोग गरिएपनि पूर्ण रूपमा सञ्चालनमा आउन भने केही दिन लाग्ने सडक विभागका महानिर्देशक डा. विजय जैसीले बताए। उनका अनुसार सडकको नाला बनाउनेलगायत काम बाँकी छ। बिहीबारदेखि पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउने विभागको तयारी छ। त्यसअघि सार्वजनिक यातायात सो सडकमा चल्न पाउनेछैनन्। 

देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसम्पादन समितिका सबैलाई केन्द्रीय सदस्यको रूपमा १५औँ महाधिवेशनमा सहभागी गराउने भएको छ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको उक्त समितिका सबैलाई केन्द्रीय सदस्यको मान्यता दिने निर्णय गरेको हो।

‘केन्द्रीय महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुपूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्यसमितिका साथीहरूलाई केन्द्रीय कार्यसमिति सदस्यको हैसियतमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने,’ निर्णयबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले भने।

भोटेकोशी बाढीको अध्ययन गर्न विज्ञ समिति गठनको तयारी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अघि बढाएको छ। बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू–जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको छ।

प्रवक्ता मोहनकुमार शाक्यका अनुसार अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञहरूसहितको समिति गठन गर्दै छ। भोटेकोशी बाढीलाई सामान्य बाढी वा अतिवृष्टिको रूपमा मात्र नभई ‘शृंखलाबद्ध विपत्’का रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावअनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता शाक्यले बताए। 

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली सार्वजनिक

२०औँ एसियाली खेलकुद आइची–नागोया २०२६ खेल्ने नेपाली क्रिकेट टोलीको टुंगो लागेको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार १५ खेलाडी सम्मिलित टोली सार्वजनिक गरेको हो। प्रशिक्षक, मेडिकललगायत गरी नेपाली टोलीमा २० जना समावेश छन्।

टोलीमा खेलाडीहरू दीपेन्द्रसिंह ऐरी, लोकेश बम, कुशल भुर्तेल, गुल्सनकुमार झा, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, कुशल मल्ल, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख र नन्दन यादव छन्।

महाधिवेशनका लागि देउवा पक्षले तोक्यो निर्वाचन समिति संयोजक

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन समितिको संयोजक तोकेको छ। देउवा पक्षले संखुवासभाका एकराज पोख्रेललाई केन्द्रीय निर्वाचन समितिको संयोजक तोकेको हो।

पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा ३५ बमोजिम पोख्रेललाई निर्वाचन समिति संयोजकको जिम्मेवारी दिइएको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिएका छन्।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपत् जोखिम न्यूनीकरणका लागि मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउने विषयमा गृहकार्य अघि बढाएको जानकारी दिए।

उनका अनुसार जोखिममा रहेका हिमतालको पानी वैज्ञानिक विधिबाट निकास गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने विषयमा छलफल भइरहेको छ। ‘जोखिममा रहेका हिमतालमा ब्लास्टिङ गरेर जलसतह घटाउने गरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले निकास गरेर जोखिममुक्त गर्नैपर्छ। विपत् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौँ। तयारी सकिएपछि निर्णय लिन्छौँ,’ उनले भने।

मन्त्री श्रेष्ठले कुन–कुन हिमतालको जलस्तर घटाउने भन्ने विषयमा भने अझै टुंगो लागिनसकेको जानकारी दिए। विज्ञहरूसँग परामर्श भइरहेको र विभिन्न हिमतालको नाम विज्ञहरूले सुझाएको उनको भनाइ छ।

‘तिनीहरू’ अस्करका लागि नेपालको आधिकारिक प्रवेश, प्रधानमन्त्री शाहले दिए बधाई

अविनाशविक्रम शाह निर्देशित नेपाली चलचित्र ‘तिनीहरू’ ९९औँ एकेडेमी अवार्डस् (अस्कर)का लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत ‘तिनीहरू’ अस्करका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहले चलचित्रको सम्पूर्ण टिमलाई बधाई दिँदै अन्तर्राष्ट्रिय यात्राका लागि शुभकामना व्यक्त गरेका छन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न लागेको चलचित्र ‘तिनीहरू’ अहिले देशभर दोस्रो सातामा प्रदर्शन भइरहेकोसमेत उल्लेख गरेका छन्।

स्वदेशी कुखुरालाई भारतीय भन्दै नियन्त्रणमा लिएपछि किसान र व्यवसायीको आपत्ति

भारतबाट अवैध रूपमा कुखुरा भित्रिएको भन्दै रौतहटका किसानले सीमामा कडाइ गर्न माग गरिरहेका वेला सशस्त्र प्रहरीले स्वदेशमै उत्पादित ब्रोइलर कुखुरा बोकेका तीनवटा पिकअप नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ। आवश्यक कागजातसहित ढुवानी भइरहेको नेपाली कुखुरालाई भारतीय भन्दै नियन्त्रणमा लिएर भन्सारमा बुझाएको स्थानीय किसान तथा व्यवसायीहरूले बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा हुने भएको छ। आइतबार सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समिति बैठकले महाधिवेशन खुलामञ्चमा गर्ने निर्णय गरेको हो।

०३६ सालमा बिपी कोइरालाले जनताको स्वतन्त्रता र अधिकारको लागि उद्घोष गरेको तथा ०४६ सालमा गणेशमान सिंहले आन्दोलन सुरु गरेको ठाउँ भएकाले आगामी महाधिवेशनका लागि खुलामञ्च चयन गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

प्रधानसेनापति सिग्देल चीन प्रस्थान

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन न्युयोर्क जानुअघि प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा गएका छन् ।

द्विपक्षीय वार्ता तथा चीनद्वारा आयोजित १३औँ बेइजिङ सिय्याङसान फोरममा सहभागी हुन प्रधानसेनापति सिग्देल आइतबार चीन प्रस्थान गरेका छन् । उनी ३ असोजमा स्वदेश फर्किने कार्यक्रम छ। 

सुझावित समाचार