सुर्खेतमा पेस्तोलसहित दुईजना पक्राउ

शनिबार, २७ भदौ, २०८३
डिजिटल संस्करण
सुर्खेतमा पेस्तोलसहित दुईजना पक्राउ

प्रतिकात्मक तस्बिर

सुर्खेतमा पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। दैलेख आठबिस नगरपालिका वडा नं ६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नं ५ का २७ वर्षीय भूपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अभद्र व्यबहारसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका क्रममा भूपेन्द्र शाहीले दिएको बयानका आधारमा आठबिस नगरपालिका–४, राकम खोलीबजार नजिकैको खोल्साबाट प्रहरीले स्वचालित पेस्तोल बरामद गरेको हो।

भूपेन्द्रले शुक्रबार प्रहरीसमक्ष दिएको बयानमार्फत पेस्तोलबारे खुलेपछि इलाका प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी उक्त स्थानमा खोजतलास गर्दा खोल्साको झाडीमा कालो प्लास्टिकमा पोको बनाइराखेको अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवत्ता कवीन्द्रसिंह बोहराले जानकारी दिए।

उनका अनुसार बरामद पेस्तोल चेकोस्लोभाकियामा बनेको हो र १०५०२८ नम्बर उल्लेख छ। प्रहरीले पेस्तोलसहित एक थान म्याग्जिन र पाँच राउन्ड गोलीसमेत बरामद गरेको छ।

पक्राउ परेका दुबैजनालाई हातहतियार खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार