उपभोक्तालाई प्रतिसिलिन्डर दुई हजार ६ सय रुपैयाँमा ग्यास बिक्री गर्ने काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ६, चखडोलको अनिल किराना पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।
सरकारले तोकेको दुई हजार ६० रुपैयाँ र उद्योगीले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च जोडेर निर्धारण गरेको दुई हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी मूल्य लिएको पाएपछि कारबाही गरेको विभागले जनाएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ मा तोकिएभन्दा बढी मूल्य लिए तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था भएकाले अधिकतम सीमामा पुगेर कारबाही गरेको विभागले जनाएको छ ।
विभागको निर्देशक अनिल किराँतीले ग्यासको बढी मूल्य लिएको पाइए कठोर भएर कारबाही गर्ने बताए । ‘अहिले हामीले ग्यासको मूल्य नियन्त्रणका लागि दैनिक चार–पाँच टोली अनुगमनमा खटाइरहेका छौँ । बढी मूल्य लिएर बिक्री गरेको पाइए ऐनअनुसार कठोर कारबाही गर्नेछौँ,’ उनले भने ।
ग्यासमा कालोबजारी बढेपछि प्रहरीले पनि उपत्यकाका विभिन्न स्थानमा रहेका डिलर तथा बिक्रेतामाथि निगरानी बढाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बिहीबार र शुक्रबार मात्रै काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट कालोबजारीका लागि राखिएका १२ सय २६ थान ग्यास सिलिन्डर बरामद भएका छन् । बिहीबारको कुल बरामद ५२१ र शुक्रबारको ७०५ गरी दुई दिनमा एक हजार २२६ थान सिलिन्डर बरामद भएको हो ।
अनिल किराँती, निर्देशक वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग
ग्यासको मूल्य नियन्त्रणका लागि दैनिक चार–पाँच टोली अनुगमनमा खटाइरहेका छौँ । बढी मूल्य लिएर बिक्री गरेको पाइए ऐनअनुसार कठोर कारबाही गर्नेछौँ ।