बालिकाको बलात्कारपछि हत्या प्रकरण : दुई मुख्य आरोपीलाई सुधारगृह पठाइयो, अन्य १० आरोपीलाई छाड्ने आदेश

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण
बालिकाको बलात्कारपछि हत्या प्रकरण : दुई मुख्य आरोपीलाई सुधारगृह पठाइयो, अन्य १० आरोपीलाई छाड्ने आदेश

घटनापछि दोषीलाई कारबाहीको माग गर्दै जितपुरसिमरामा भएको प्रदर्शन

बाराको जितपुर–सिमराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई नाबालक पुर्पक्षका लागि सुधारगृह चलान भएका छन्। जिल्ला अदालत, बाराको आदेशले उनीहरू सुधारगृह चलान भएका हुन्। 

यस मुद्दाका अन्य १० आरोपी भने छुटेका छन्। पुरग्रेस चौधरी, इन्द्रजित चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नवीन विक, टेकबहादुर थापामगर, शेष हुस्मिदिन, सविता चौधरी र विन्दुदेवी चौधरी छुटेका हुन्। 

उनीहरूमध्ये पुरग्रेस चौधरीको हकमा २० हजार धरौटी माग भएको छ भने अन्यको हकमा प्रमाण नभएको भन्दै साधारण तारेखमा छाडिएको छ। जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासबाट सो आदेश भएको हो । अपराधमा संलग्न भएका १८ वर्षभन्दा कम उमेरका नाबालकको हकमा जेलजस्तै सुधारगृह पठाउने कानुनी व्यवस्था छ। 

दुई नाबालक र अन्य १० आरोपीको हकमा अदालतमा छुट्टाछुट्टै अभियोगपत्र दर्ता भएको थियो। घटनामा प्रत्यक्ष संलग्न देखिएका दुई नाबालक पुर्पक्षका लागि सुधार केन्द्र गएको र अन्य धरौटी तथा साधारण तारेखमा छुटेको बाराका एसपी नरेन्द्र कुँवरले बताए। 

३१ साउनमा घरबाट बेपत्ता भएकी बालिकाको २ साउनमा शव भेटिएको थियो। सुरुमा प्रहरीले खोजीमा चासो नदिएको र पछि अनुसन्धानमा पनि गम्भीरता नदेखाएको भन्दै बालिकाका आफन्त आन्दोलित भएका थिए। पछि गृह मन्त्रालयमै बालिकाका परिवारसँग समझदारी भएको थियो। 

सुझावित समाचार