गुप्तचरका एसपीलाई हनिट्रयापमा फसाएको आरोपमा पक्राउ परेकी महिला जेल चलान

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय अनुसन्धान विभागका एसपीलाई हनिट्रयापमा फसाएर पैसा असुलेको आरोपमा पक्राउ परेकी महिला जेल चलान भएकी छिन्। जिल्ला अदालत, काठमाडौंले बुधबार कुसुम गुभाजू गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । 

गुप्तचरका एसपी प्रकाश आचार्यको जाहेरीका आधारमा उनी गत महिना पक्राउ परेकी थिइन्। अनुसन्धान पूरा गरी उनीविरुद्ध आपराधिक लाभ र साइबर अपराधको कसुर दायर भएको थियो। 

अनुसन्धान प्रतिवेदनअनुसार उनीहरू करिब तीन वर्षअघि सामाजिक सञ्जालमार्फत भेट भई निकट भएका थिए। पछिल्लो समय एसपी आचार्य टाढा हुन खोजेपछि उनले टर्चर दिन थालेकी थिइन्। दुईबिच झगडासमेत भई प्रहरीमा पुगेर मिलापत्र भएको थियो। 

टाढिन खोजेपछि महिलाले बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा माग्न थालेको पीडितको दाबी छ। उनले पटकपटक गरेर २७ लाख दिएका थिए। तर, महिलाले ५० लाख माग्दै यातना दिएपछि उनले उजुरी गरेका हुन्। 

पक्राउ परेकी महिलाले २७ लाख लिएको स्वीकार गरेकी छिन्। सहमतिमै पैसा लिएको उनको दाबी छ। 

सुझावित समाचार