आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विदेश भ्रमण स्वीकृत गर्ने, मिटरब्याजसम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिने, विभिन्न स्थानीय तहका गरिब घरपरिवारको सूची स्वीकृत गर्ने तथा कर्मचारी सरुवा, बढुवा र नियुक्तिको निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका विभिन्न सात निर्णय सार्वजनिक गरेका छन्। सार्वजनिक निर्णयहरू यस्ता छन् :
१. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा २०८३ असोज ६ देखि १० गतेसम्म प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने।
२. भारतको नयाँदिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने।
३. अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।
४. काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने।
५. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल (भक्तपुर), सदस्यमा रामशरण सापकोटा (मकवानपुर) र महिला सदस्यमा विष्णु घिमिरे रिमाल (काठमाडौं)लाई नियुक्ति गर्ने।
६. सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।
७. सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।