राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले विपतका वेला प्रविधि र उपकरणसँगै दृढ इच्छाशक्ति, प्रभावकारी समन्वय र आशाले उद्धार कार्यलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद न्यौपानेले त्रिशूली थ्री ‘ए’ र चिलिमे जलविद्युत् आयोजनामा भएको उद्धार कार्यको स्थलगत निरीक्षण तथा सहजीकरण गर्ने अवसर प्राप्त भएको बताए।
कठिन परिस्थितबिच दुईजनाको जीवित उद्धार गर्न सकिएको क्षण आफूका लागि अविस्मरणीय रहेको उनले बताए। चिलिमे जलविद्युत् आयोजनामा समेत अहिले उद्धारको आशा पलाएको उल्लेख गर्दै न्यौपानेले विपतकाे समयमा आशा र धैर्यले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
‘विपतमा प्रविधि र उपकरणसँगै दृढ इच्छाशक्ति, समन्वय र आशा नै जीवन बचाउने सबैभन्दा ठुला शक्ति हुन्,’ उनले भने। सांसद न्यौपानेले उद्धार कार्यमा प्रत्यक्ष रूपमा खटिएका सुरक्षाकर्मी, प्राविधिक, उद्धारकर्मी तथा सम्बन्धित सबैप्रति सम्मान र धन्यवाद व्यक्त गरे।