नेपाल जेन–जी फ्रन्टद्वारा उद्योगमन्त्रीको राजीनामा माग

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल जेन–जी फ्रन्टले उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा माग गरेको छ। फ्रन्टले सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न असफल भएको आरोप लगाउँदै मन्त्रीको जवाफदेहितामाथि प्रश्न उठाएको हो।

फ्रन्टले एक विज्ञप्तिमार्फत सरकारका मन्त्रीहरूले आफ्नो कमजोरी ढाक्न कर्मचारी, व्यवसायी, पत्रकार, राष्ट्रिय सभा, विपक्षी दल तथा विगतका पुस्तालाई दोष दिइरहेको आरोप लगाएको छ।

‘सरकार बनेको महिनौँ हुँदा पनि जनताको आधारभूत आवश्यकता पूरा गर्न नसक्ने, १२–१३ वर्षका स्कुले विद्यार्थीदेखि वृद्धवृद्धा र विदेशी पर्यटकसम्म पानीमा भिज्दै घण्टौँसम्म ग्यासको लाइनमा बस्नुपर्ने अवस्था आएको’ भन्दै फ्रन्टले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।

जनता समस्यामा पर्दासमेत मन्त्रीहरूले आफ्नो जिम्मेवारी स्वीकार गर्नुको सट्टा अरूमाथि दोष थोपर्ने गरेको फ्रन्टको आरोप छ। पछिल्लो समय जनतामा बढेको निराशा र आक्रोशप्रति समेत सरकारले गम्भीर बन्नुपर्ने उसको भनाइ छ।

फ्रन्टले उद्योगमन्त्रीलाई लक्षित गर्दै अब राजीनामा दिन आग्रह गरेको छ। ‘हामीलाई लाचार र छुद्र मन्त्री चाहिँदैन, जिम्मेवार र जवाफदेही सेवक मन्त्री चाहिन्छ,’ फ्रन्टले भनेको छ।

फ्रन्टले पछिल्लो ४–५ महिनाको सरकारको कार्यसम्पादनबाट जनताले सरकारका मन्त्रीहरूको जिम्मेवारी र जवाफदेहिताबारे पर्याप्त बुझिसकेको दाबीसमेत गरेको छ।

सुझावित समाचार