किम्रोङ खोलाको बहाब रोकिएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपिल

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने तल्लो तटीय क्षेत्र कालिगण्डकी दोभानसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

बाढी पूर्वानुमान महाशाखाले मंगलबार राति ८ः४० बजे सूचना जारी गर्दै किम्रुङ खोला थुनिएको जानकारी दिएको हो। महाशाखाले कालिगण्डकी दोभानसम्मका तल्लो तटीय क्षेत्रका नयाँपुल, वीरेठाँटी र आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

किम्रुङ खोला मोदी खोलाको सहायक नदी हो। साथै, सम्भावित बाढीको जोखिमलाई ध्यान दिँदै मोदी नदी करिडोरमा आवागमन नगर्न समेत महाशाखाले अनुरोध गरेको छ।

‘किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म कालिगण्डकी दोभानसम्मको तल्लो क्षेत्र नयाँपुल, बिरेठाँटी र आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध छ,’ महाशाखाले भनेको छ। 

किम्रोङखोलामा यसअघि गत असार २८ गते पनि एक्कासि बाढी आएको थियो। उक्त बाढीले पुल बगाउनुका साथै स्थानीय होटेलमा समेत क्षति पुर्याएको थियो।

खोला थुनिएको कारण र अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदीकिनार तथा मोदी नदी करिडोर आसपासका क्षेत्रमा अनावश्यक आवागमन नगर्न र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले समेत आग्रह गरेको छ।

सुझावित समाचार