टेलिभिजन प्रस्तोतासहित ११ जनालाई मृत्युदण्ड

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

इजिप्टको एक अदालतले देशकी चर्चित टेलिभिजन प्रस्तोता सारा खलिफा र अन्य ११ जनालाई मृत्युदण्ड सुनाएको छ । लागुऔषधसम्बन्धी अभियोगमा दोषी ठहरिएपछि अदालतले उनीहरूलाई मृत्युदण्ड सुनाएको हो । सरकारी स्वामित्वको ‘अल–अहराम’ पत्रिकाका अनुसार उनीहरू लागुऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थ बिक्री गर्ने उद्देश्यले आयात गर्ने एउटा आपराधिक समूहका सदस्य थिए । उनीहरूसँग अवैध हातहतियार र गोलीगट्ठा पनि फेला परेको थियो ।

३९ वर्षीया खलिफा अपराधसम्बन्धी विषयवस्तुमा आधारित ‘मिसन इम्पोसिबल’ नामक टेलिभिजन कार्यक्रमका लागि परिचित छिन् । उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी छिन् । खलिफाका वकिलले उनले मृत्युदण्डको सजायविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

सोही मुद्दामा मुछिएका अन्य नौजनालाई आजीवन कारावासको सजाय सुनाइएको छ भने सातजनाले सफाइ पाएका छन् । यो फैसला पहिलोपटक गत महिना सुनाइएको थियो । यद्यपि, मृत्युदण्डको सजायसम्बन्धी मुद्दामा कानुनी रूपमा अनिवार्य मानिने इजिप्टका ग्रान्ड मुफ्तीको धार्मिक राय प्राप्त भएपछि मात्र एक महिनापछि यसको पुष्टि गरिएको हो ।

मुद्दाको सुनुवाइको क्रममा अधिकारीहरूले ७५० किलोग्राम (१,६५३ पाउन्ड) भन्दा बढी लागुऔषध र त्यसमा प्रयोग हुने आयातीत कच्चा पदार्थहरू बरामद गरेको जानकारी अदालतलाई दिएका थिए । कुराकानी र भिडियो क्लिपसहितका विद्युतीय प्रमाणका अतिरिक्त, २० जना साक्षीले सरकारी वकिलसमक्ष बयान दिएका थिए ।

सरकारी स्वामित्वको अर्को अखबार अल–योमका अनुसार, गत सेप्टेम्बरमा अदालतमा उपस्थित हुँदा न्यायाधीशले कथित भूमिकाबारे सोधेको प्रश्नको जवाफमा खलिफाले कहिल्यै कुनै लागुऔषध नदेखेको दाबी गरेकी थिइन् । एम्नेस्टी इन्टरनेसनलको सन् २०२५ को प्रतिवेदनअनुसार गत वर्ष ४९२ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

सुझावित समाचार