प्रमुख प्रतिपक्षी दल कांग्रेसले भोटेकोशी बाढी र पार्टीको १५औँ महाधिवेशन कार्यतालिकाको समीक्षा गर्दै छ । दुई एजेन्डासहित कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
शनिबार बोलाइएको बैठक आइतबारका लागि सारिएको उनले बताए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ । ‘शनिबार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो । बैठकमा भोटेकोशी बाढी र पार्टीको १५औँ महाधिवेशन कार्यसूची रहेको छ,’ दुलालले भने ।
बैठकमा भोटेकोशी बाढीबाट प्रभावितलाई राहतको विषयमा मुख्यतः छलफल हुने महामन्त्री गुरुराज घिमिरेले बताए । ‘बाढी प्रभावितलाई पार्टीले बुझाउने राहतको विषयमा मुख्य छलफल हुन्छ । विपत्मा परेकालाई कांग्रेसको संयन्त्र परिचालन गरेर कसरी बढीभन्दा बढी राहत पुर्याउने भन्नेमा छौँ,’ उनले भने ।
सभापति गगन थापाले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनले धादिङ, नुवाकोट र रसुवा पुगेर बाढी प्रभावितहरूसँग प्रत्यक्ष संवाद गरेका थिए । कांग्रेसले केन्द्र र स्थानीय पार्टी कमिटी प्रभावित जिल्लामा परिचालन गरेको छ । बैठकमा थापाले बाढीपछिको स्थितिबारे ब्रिफिङ गर्नेछन् ।
दोस्रो एजेन्डा महाधिवेशनबारे थप निर्णय हुने नेताहरूले बताएका छन् । कांग्रेसले १६–१९ असोजमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याइसकेको छ । २४ भदौमा वडा अधिवेशनको कार्यतालिका छ । तर, क्रियाशील सदस्यताकै विषय नटुंगिएकाले वडा अधिवेशन केही समय धकेलिन सक्ने एक नेताले बताए ।