बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएपछि कतिपय स्थानमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ भने केही सडकखण्डमा सीमित रूपमा यातायात सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीले सडकको अवस्थाबारे विवरण सार्वजनिक गर्दै सर्वसाधारण तथा यात्रुलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

प्रहरीका अनुसार बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्था मूल्यांकन गरेर मात्र सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरिने जनाइएको छ।

यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

रात्रिकालीन यात्रामा जोखिम बढ्ने भन्दै नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोला, टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।

यता, चन्द्रागिरि नगरपालिका–२, चिसापानीमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

प्रहरीका अनुसार अन्य केही मुख्य राजमार्ग तथा सडकखण्ड पनि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा अवरुद्ध रहनेछन्।

वर्षा अझै जारी रहेकाले प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नैपर्ने अवस्था भएमा निस्कनुअघि नजिकको प्रहरी कार्यालय वा सम्बन्धित सडक निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

सुझावित समाचार