भोटेकोशी बाढीपछि सल्यानका दर्जनौँ परिवारमा अहिले ‘हाम्रा मान्छे कहाँ छन्’ भन्ने एउटै चासो छ । रोजगारीका लागि रसुवा पुगेका आफन्त बाढीपछि सम्पर्कविहीन बनेपछि परिवारजन दिनरात उनीहरू फर्किने आशमा बाटो हेरिरहेका छन् ।
त्रिवेणी गाउँपालिका– ५ का मोहन रेउलेले १० भदौको बिहान ८ बजे श्रीमती पूजा रेउलेलाई फोन गरे । त्यस दिन उनको नाइट ड्युटी थियो । थकित भएकाले केहीबेर सुत्ने र बिहान १० बजेतिर पुनः फोन गर्ने बताउँदै उनले श्रीमतीसँग कुरा गरेका थिए । तर, सधैँजसो बिहान १० बजे फोन गर्ने मोहनले त्यस दिन फोन गरेनन् । पूजा आफैँले फोन गरिन् । पटक–पटक प्रयास गर्दा पनि फोन लागेन । केही समयपछि मोहन काम गर्ने कम्पनीमा बाढी पसेको खबर उनका साथीमार्फत आएपछि भने पूजाको होसहवास नै उड्यो ।
१३ साउनमा मात्रै घरबाट निस्किएका मोहन केही कमाइ गरेर असोजमा वैदेशिक रोजगारीमा जाने सोचमा थिए । घरमा छोराले बाबा कहाँ हुनुहुन्छ भनेर सोध्दा पूजाले ‘बाबा अस्पतालमा हुनुहुन्छ’ भन्दै ढाँट्दै आएकी छिन् । ‘कति दिन ढाँट्नु ? अहिलेसम्म आँखाबाट आँसु ओभाएका छैनन्, भए सास, नभए लाससम्म भए पनि मन बुझाउन हुन्थ्यो,’ पूजाले भनिन् ।
शारदा नगरपालिका– १३ का शिवबहादुर बुढाथोकीको परिवारको अवस्था पनि उस्तै छ । उनका छोरी, बहिनी, बुहारी र भतिजोलगायत पाँचजना बाढीपछि सम्पर्कविहीन छन् । सन्तान तथा आफन्त फर्केर आउलान् कि भन्दै बाटो हेर्दाहेर्दै आठ दिन बितिसकेको छ । खोजीका लागि प्रभावित क्षेत्रसम्म पुगे पनि कुनै ठोस जानकारी नपाई फर्किनुपरेको परिवारको भनाइ छ । सम्पर्कविहीन हुनेमा ३२ वर्षीया प्रमिला बुढाथोकी, २८ वर्षीया लक्ष्मी बुढाथोकी, १७ वर्षीय प्रवीण बुढाथोकी, ३० वर्षीया रिता बुढाथोकी र ४४ वर्षीय रिमबहादुर बुढाथोकी छन् ।
कुमाख गाउँपालिका– ३, गुरुदासेका २३ वर्षीय वीरेन्द्र राणा अहिले काठमाडौंमा छन् । तर, काठमाडौं उनको गन्तव्य होइन, बाध्यता हो । उनी आफ्ना ४३ वर्षीय बुबा निमप्रकाश राणाको खोजीमा प्रभावित क्षेत्रमा पुगेका हुन् ।
बुबाको अवस्था पत्ता लगाउन वीरेन्द्र चितवनदेखि रसुवा, नुवाकोट हुँदै काठमाडौंसम्म पुगे । अस्पताल चहारे, प्रहरी कार्यालय धाए, आफन्त र चिनजानका मानिससँग सोधखोज गरे । घाइते भेटिएको र शव भेटिएको खबर आए त्यहाँ पुगे, तर कतै बुबाको अत्तोपत्तो लागेन । ‘घाइते हुनुहुन्छ कि भनेर विभिन्न अस्पताल धायौँ । रसुवा र नुवाकोट पनि पुग्यौँ, केही टुंगो लागेन,’ वीरेन्द्रले भने, ‘सास नभेटिए पनि लास भेटिन्छ कि भनेर अस्पताल–अस्पताल धायौँ । चितवन, पोखरासम्म आफन्त पुग्नुभएको छ, तर अहिलेसम्म केही पत्ता लागेको छैन ।’
वीरेन्द्रका बुबा मात्रै होइन, एउटै गाउँ गुरुदासेका ६० वर्षीय दुर्गाबहादुर राणा, ४० वर्षीय गणेश राणा, २५ वर्षीय नवीन राणा, ५५ वर्षीय झ्यासे राणा, २७ वर्षीय नन्दराम राणा र २४ वर्षीय चित्रबहादुर राणा पनि बाढीपछि परिवारको सम्पर्कमा आएका छैनन् ।
रसुवाको बाढीले सल्यानका धेरै परिवारको निद्रा खोसेको छ । गाउँमा मानिसहरू भेला हुन्छन् र हराइरहेका आफन्तको कुरा गर्छन् । मोबाइलमा आएका खबर हेर्छन्, सामाजिक सञ्जालमा तस्बिर खोज्छन्, कतै शव भेटिएको खबर आयो कि भनेर कान थापेर बस्छन् । कहिलेकाहीँ मोबाइलको घन्टी बज्छ । फोन बज्नेबित्तिकै परिवारका सबै सदस्यको मुटु ढुकढुक गर्छ । सायद आफन्तकै फोन हो कि भन्ने आशा जाग्छ । तर, धेरैपटक त्यो आशा क्षणभरमै निराशामा परिणत हुन्छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानमा प्राप्त विवरण अनुसार सम्पर्कविहीन भनेर ५९ जनाको विवरण उपलब्ध गराइएकोमा चारजना सम्पर्कमा आएका छन् । ५५ जना अझै सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले बताए ।