भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त निजी आवासको पुनर्निर्माण कसरी हुन सक्ला ?
बाढीपछिको पुनर्निर्माण भूकम्पपछिको पुनर्निर्माणजस्तो सहज छैन । भूकम्पपछि व्यक्तिका आवास ध्वस्त भए पनि जमिन जहाँको त्यहीँ थियो । त्यही स्थानमा घर बन्न सक्थ्यो । सरकारले सामान्य सहयोग गर्दा धेरैका घर तयार पनि भए । तर, अहिले बाढीपछि पहिलेको स्थानमा पुनः घर बनाउन सक्ने अवस्था छैन । प्रभावित क्षेत्रको नापनक्सा नै बदलिएको छ । यस्तोमा सबैभन्दा पहिले उपयुक्त र सुरक्षित जग्गा खोजी गर्नुपर्छ । साथै, प्रभावित जनतालाई पहिलेको थातथलोबाट नजिक पनि पर्ने, सामाजिक, सांस्कृतिक रहनसहनमा पनि समस्या नआउने, जीविकोपार्जन या रोजगारीका अवसर पनि उपलब्ध हुने उपयुक्त स्थानको खोजी गरी सुविधा सम्पन्न सहरी विकासको प्रस्ट योजनासँगै निजी आवास निर्माणलाई अघि बढाउनु उपयुक्त हुन्छ । त्यसका लागि नुवाकोटका बट्टार, पीपलटारलगायत स्थान उपयुक्त हुन सक्छन् ।
यस क्षेत्रका क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलाई चाहिँ कसरी अघि बढाउनुपर्ला ?
पूर्वाधार भन्नाले क्षतिग्रस्त सडक, पुल, खानेपानी, टेलिफोन, इन्टरनेट, बिजुली आदिलाई बुझ्नुपर्छ । तत्कालका लागि अस्थायी व्यवस्था त आवश्यकताअनुसार गर्नैपर्छ । तर, स्थायी रूपमा यस्ता पूर्वाधार निर्माण सुरु गर्नुअघि स्थायी आवासका लागि सुरक्षित र उपयुक्त स्थान चयन गर्नुपर्छ । त्यसपछि मात्र तिनै स्थानलाई लक्षित गरी पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नु राम्रो हुन्छ । मित्रराष्ट्र चीनसित जोडिने ‘एक्सेस रोड’का लागि पनि अब द्रुतमार्गको अवधारणामा सुरुङसहितको मार्गको विकल्पमा जानु ठिक हुन्छ । योजनाबद्ध सहरी विकास र पूर्वाधार निर्माणका लागि बाढीको यो विनाशलाई अवसरमा परिणत गर्न सक्नुपर्छ ।
तत्काल आवश्यक विद्यालय, स्वास्थ्य संस्थाहरूको पुनर्निर्माणचाहिँ कसरी गर्नु उपयुक्त होला ?
विद्यालय र स्वास्थ्य संस्थाका हकमा पनि तत्काल अस्थायी व्यवस्थामै जानु ठिक हुन्छ । जब आवास निर्माणका लागि जग्गा सुनिश्चित हुन्छ, तब मात्र स्थायी रूपमा विद्यालय, स्वास्थ्य संस्थालगायत निर्माणमा ध्यान केन्द्रित गर्नु ठिक हुन्छ । त्यसैले, बाढीपछिको पुनर्निर्माणका लागि पहिलो प्रस्थानविन्दु भनेको उपयुक्त जग्गाको व्यवस्थापन नै हो ।