उदयपुरका त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका बासिन्दाले अब आवश्यक पर्दा निःशुल्क रगत पाउने भएका छन्। नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखा र दुई नगरपालिकाबिच सम्झौता भएपछि स्थानीय बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरिएको हो।
त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाले आफ्नो क्षेत्रका बिरामीलाई आवश्यक पर्ने रगतको शुल्क व्यहोर्ने गरी नेपाल रेडक्रस सोसाइटी उदयपुरसँग सहमति गरेका हुन्।
रेडक्रस उदयपुरका अध्यक्ष मदनराज कटुवालका अनुसार त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामासँग छुट्टाछुट्टै सहमतिपत्रमा हस्ताक्षर भएपछि निःशुल्क रगत वितरणको व्यवस्था गरिएको हो।
सम्झौताअनुसार त्रियुगा नगरपालिकाले प्रतिवर्ष न्यूनतम तीन सय युनिट रगतका लागि नेपाल रेडक्रस सोसाइटी उदयपुरलाई चार लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको अध्यक्ष कटुवालले जानकारी दिए। प्रतियुनिट एक हजार पाँच सय रुपैयाँका दरले लाग्ने शुल्क नगरपालिकाले व्यहोर्नेछ।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले नगरभित्रका बिरामी आर्थिक अभावका कारण आवश्यक रगतबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले रेडक्रससँग सहकार्य गरिएको बताए।
त्यसैगरी चौदण्डीगढी नगरपालिकाले वार्षिक दुई सय युनिट रगतका लागि तीन लाख रुपैयाँ रेडक्रसलाई उपलब्ध गराउने निर्णय गरेको छ। चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाका अनुसार नगरपालिकाभित्रका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो।
दुवै नगरपालिकाले सम्झौताअनुसारको रकम दुई किस्तामा नेपाल रेडक्रस सोसाइटी उदयपुरलाई उपलब्ध गराउने जनाइएको छ। सम्झौताअनुसार सम्बन्धित नगरपालिकाबाट सिफारिस लिएर आएका बिरामीले उदयपुरस्थित रक्त सञ्चार केन्द्रबाट निःशुल्क रगत प्राप्त गर्नेछन्।
यसअघि बिरामीले प्रतियुनिट एक हजार पाँच सय रुपैयाँ शुल्क तिरेर रगत लिनुपर्ने व्यवस्था थियो। रेडक्रस उदयपुरका अनुसार जिल्लाको एक मात्र रक्तसञ्चार केन्द्रमा आइतबारसम्म विभिन्न रक्त समूहका गरी १६० युनिट रगत सञ्चित रहेको छ।
रक्तसञ्चार केन्द्रमा ए पजिटिभ ५८ युनिट, बी पजिटिभ ४२ युनिट, ओ पजिटिभ ३५ युनिट, एबी पजिटिभ २३ युनिट तथा बी नेगेटिभ र ओ नेगेटिभ एक–एक युनिट रगत मौज्दात रहेको रेडक्रसले जनाएको छ।