चीन सरकारले भोटेकोशी बाढीपीडितका लागि घोषणा गरेको सहयोग रकम ३० करोड रुपैयाँ नेपाललाई हस्तान्तरण गरेको छ । आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर)को चेक हस्तान्तरण गरेका हुन् । यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको तीन करोड ६ लाख रुपैयाँबराबर (दुई लाख अमेरिकी डलर)को नगद पनि हस्तान्तरण गरेका छन् ।
राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले नेपालका लागि चीन सरकारले गरेका अन्य प्रकारका सहयोग पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए ।
आइतबार मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्यांकेट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौंमा ओरालेको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ । रसुवामा गएको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउन पहल भइरहेको राजदूत माओमिङले अर्थमन्त्रीलाई अवगत गराए ।
नेपाल सरकारले उद्धारका लागि माग गरेको ठुलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रुत गतिमा काम गरिरहेको कुरा पनि उनले अर्थमन्त्रीलाई जानकारी दिए । यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिएका छन् । राजदूत माओमिङले राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङको सन्देश नेपाल सरकारलाई सुनाएका हुन् ।
पुनर्निर्माणमा चीनबाट ठुलो सहयोगको अपेक्षा : अर्थमन्त्री
अर्थमन्त्री डा. वाग्लेले बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली र उनीहरूको परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे । विश्वको बढ्दो तापक्रमको विनाशकारी क्षति हिमालय क्षेत्रका मुलुकहरूले व्यहोर्नुपर्ने कारणको सुरुवात भएको भन्दै उनले यसको सामना गर्न नेपाल र चीनबिच हातेमालो जरुरी रहेको बताए । यसपटकको बाढीका कारण नेपालले व्यहोरेको क्षतिको पुनर्निर्माणमा चीनबाट ठुलो सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।
भारतबाट आयो थप राहत
शनिबार राति भारतबाट थप ११ टन राहत सामग्री आएको छ । भारत सरकारबाट हालसम्म चार चरणमा कुल ६८.५ टन मानवीय सहायता तथा औषधि आइपुगेका छन् । भारतले पठाएका ‘सिंगल लेन मोड्युलर स्टिल ब्रिज’का उपकरण बोकेका १६ ट्रक आइतबार आइपुगेका छन् । थप सातवटा बेलिब्रिज जडानका लागि आवश्यक उपकरण छिट्टै पठाइने भारतीय पक्षले जनाएको छ ।
युएईको ८० टन राहत सामग्री
संयुक्त अरब इमिरेट्सले नेपालका बाढी प्रभावितका लागि सहयोगार्थ पठाएको ८० टन सामग्री शनिबार राति आइपुगेको छ । सोमबार युएईबाट थप राहत सामग्री आउन लागेको विज्ञानमन्त्री महावीर पुनले बताए ।