नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आइतबारदेखि सेवा सुचारु गरेको छ। यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बिटिएस (बेस ट्रान्सिभर स्टेसन) साइटहरू सञ्चालनमा आएको टेलिकमले जनाएको छ।
आइतबार रसुवा बोर्डरसहित अपर सेन्जेन, छापथोके, जिबजिबे र गत्लाङ तथा नुवाकोटको चारघरे र मुलाबारी बिटिएस साइट सञ्चालनमा ल्याइएको हो। रसुवा बोर्डर बिटिएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेँसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएका छन्।
अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ, आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ लगायतका स्थान तथा छापथोके साइटबाट बेत्रावती, काउले, त्रिशूली थ्री बी, उत्तरगया गाउँपालिका र किस्पाङमा मोबाइल सेवा उपलब्ध हुनेछ।
जिबजिब साइटबाट सेवा प्राप्त हुने स्थानहरू कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी र देउराली डाँडा रहेका छन्। त्यसैगरी, गत्लाङ बिटिएस साइटमार्फत सेवा सञ्चालन हुने ठाउँहरूमा गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पा गाउँ, ठुलो स्याफ्रु, स्याफ्रुबेँसी, खाङजुम र बरिम रहेका छन्।
चारघरे तथा मुलाबारी बिटिएस साइटबाट विदुर नगरपालिकाको वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ।