भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबिच छलफल भएको छ।
छलफलमा मुख्यमन्त्री थापाले विपत् व्यवस्थापनका क्रममा संघ, प्रदेश र स्थानीय तहबिच आवश्यक समन्वय हुन नसकेको भन्दै त्यसले काममा असर परेको गुनासो गरे। उनले प्रदेश सरकारले आफ्नै स्रोत र संयन्त्रबाट राहत तथा उद्धारका काम अघि बढाइरहेको बताउँदै प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुगेका वेलासमेत प्रदेश सरकारलाई औपचारिक जानकारी नदिइएकोप्रति दुःख व्यक्त गरे।
मुख्यमन्त्री थापाले तीन तहका सरकारको जिम्मेवारी स्पष्ट नहुँदा विपत् व्यवस्थापनमा अन्योल सिर्जना भएको बताए। ‘कसले के काम गर्ने भन्ने विषय स्पष्ट छुट्याउन आवश्यक छ,’ वनस्थलीमा भएको भेटमा थापाले भने।
उनका अनुसार प्रदेश सरकारले राहत सामग्री संकलन गरे पनि अधिकांश सामग्री नुवाकोटको विदुर क्षेत्रमा थुप्रिएको छ। सडक अवरुद्ध र यातायात कठिन भएका कारण प्रभावित बस्तीसम्म राहत पुर्याउन चुनौती भइरहेको उनले बताए।
भेटमा मुख्यमन्त्री थापाले जलवायु परिवर्तनका कारण यस्ता विपत् दोहोरिन सक्ने जोखिम बढेकाले नदी तथा खोलाकिनारका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने दीर्घकालीन योजना बनाउन तीनै तहका सरकारले संयुक्त रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
रास्वपा सभापति लामिछानेले विपतकाे समयमा प्रदेश सरकारले संघीय र स्थानीय सरकारबिच समन्वयकारी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे। उनले अहिले राजनीतिक मतभेदभन्दा नागरिकको उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने भन्दै सबै तहका सरकारबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
सभापति लामिछानेले संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रका लागि आवश्यक सहयोग उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
भेटमा बाढी प्रभावित क्षेत्रमा राहत वितरणलाई थप प्रभावकारी बनाउने, पुनर्स्थापना योजना अघि बढाउने तथा भविष्यमा यस्ता विपतकाे जोखिम न्यूनीकरणका लागि दीर्घकालीन नीति आवश्यक रहेको विषयमा पनि छलफल भएको छ।