साउनमा सरकारले उठायो २३ अर्ब २९ करोड ऋण

विनिमय दरमा लाभ हुँदा सार्वजनिक ऋण पाँच अर्ब ३५ करोडले घट्यो, तिर्न बाँकी ऋण पौने ३० खर्ब पुग्यो

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

सरकारले चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २३ अर्ब २९ करोड ८० लाख रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । साउनमा सरकारले २० अर्ब आन्तरिक र तीन अर्ब २९ करोड ८० लाख रुपैयाँबराबर वैदेशिक ऋण परिचालन गरेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनमा ऋण परिचालनको तुलनामा सरकारले तीन अर्बले कमी हुने गरी २० अर्ब ६ करोड ७५ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ । यस अवधिमा सरकारले १७ अर्ब ९१ करोड ४० लाख आन्तरिक र दुई अर्ब १५ करोड ३५ लाख रुपैयाँबराबर बाह्य ऋणको साँवा भुक्तानी गरेको हो । यससँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २९ खर्ब ७६ अर्ब ३३ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा ४५.१० प्रतिशत हो ।

चालू आर्थिक वर्षको पहिलो महिनामा विनिमय दरमा भएको परिवर्तनले सरकारलाई आठ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा भएको छ । विनिमय लाभले गर्दा साँवा भुक्तानीको तुलनामा ऋण परिचालन गर्दासमेत तिर्न बाँकी ऋण अझ घटेको हो । गत आर्थिक वर्षको अन्तिम अर्थात् असार मसान्तसम्ममा तिर्न बाँकी ऋण २९ खर्ब ८१ अर्ब ६८ करोड ८६ लाख रुपैयाँबराबर थियो । साउन महिनामा भुक्तानीको तुलनामा ऋण परिचालन तीन अर्बले बढी देखिएको भए पनि आठ अर्ब विनिमय लाभ हुन पुग्यो । यसले गर्दा असारको तुलनमाा साउन मसान्तसम्ममा आइपुग्दा तिर्न बाँकी ऋण पाँच अर्ब ३५ करोडले कमी हुन पुगेको हो ।

ब्याजमा भयो पौने ६ अर्ब खर्च 
साउन महिनामा सरकारले ऋण सेवामा कुल २४ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ । यसमध्ये ब्याजमा मात्रै ६ अर्ब ८४ करोड २६ लाख रुपैयाँ खर्च भएको हो । यस अवधिमा सरकारले आन्तरिकतर्फ पाँच अर्ब ३४ करोड दुई लाख र बाह्यतर्फ ५० करोड २४ लाख रुपैयाँबराबरको ब्याज भुक्तानी गरिएको कार्यालयको तथ्यांक छ । सरकारले साउनमा ऋण सेवामा गरेको कुल खर्च जिडिपीको ०.३८ प्रतिशतबराबर हो । 

सरकारले चालू आवमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । साउनमा परिचालन गरिएका सार्वजनिक ऋण वार्षिक लक्ष्यको ३.५४ प्रतिशत हो । त्यस्तै, चालू आवमा ऋणको साँवा ब्याज भुक्तानीका लागि सरकारले चार खर्ब १७ अर्ब ८८ करोड बजेट विनियोजन गरेको छ । साउनमा ऋण सेवामा भएको खर्च वार्षिक विनियोजनको ५.९८ प्रतिशत हो । 

सुझावित समाचार