नेपाल–अमेरिका सम्बन्धलाई नयाँ आर्थिक दिशामा लैजानुपर्छ : परराष्ट्रमन्त्री खनाल

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत विकास सहायताको दायराबाट अघि बढाउँदै लगानी, व्यापार, प्रविधि र उद्यमशीलतामा केन्द्रित गर्नुपर्ने बताएका छन्।

अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा सेन्टर फर साउथ एसियन स्टडिज–नेपालले आयोजना गरेको कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको तयारीमा रहेकाले द्विपक्षीय सम्बन्धलाई नयाँ आर्थिक आधारमा अघि बढाउनुपर्ने बताए।

‘नेपालले सहायता निर्भर अर्थतन्त्रबाट निजी क्षेत्रको गतिशीलता, प्रत्यक्ष वैदेशिक लगानी र उच्च मूल्यका व्यापारतर्फ निर्णायक रूपमा रूपान्तरण गरिरहेको छ,’ उनले भने, ‘अब हाम्रो द्विपक्षीय सम्बन्ध पनि यसैअनुरूप अघि बढ्नुपर्छ।’

मन्त्री खनालले नेपाल–अमेरिका आर्थिक सहकार्यलाई तीन रणनीतिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए। पहिलो, नेपालको दक्ष युवा तथा सूचना प्रविधि जनशक्तिलाई अमेरिकी नवप्रवर्तन प्रणाली र पुँजीसँग जोड्दै डिजिटल रूपान्तरणलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो।

दोस्रो, स्वच्छ ऊर्जा र जलवायु उत्थानशीलतामा सहकार्य विस्तार गर्नुपर्ने उनले बताए। दिगो जलविद्युत्, सीमापार विद्युत् प्रसारण संरचना तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षण यसका प्राथमिक क्षेत्र हुने उनको भनाइ थियो। तेस्रो, अमेरिकामा रहेको नेपाली डायस्पोराको ज्ञान, सिप, पुँजी र उद्यमशीलतालाई प्रविधि हस्तान्तरण, व्यापारिक सम्बन्ध तथा उद्यम विकाससँग जोड्नुपर्ने मन्त्री खनालले बताए।

मन्त्री खनालले आगामी वर्ष नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्ष पूरा हुने उल्लेख गर्दै दुई देशबिचको सम्बन्ध साझा लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान र बलियो जनस्तरीय सम्बन्धमा आधारित रहेको बताए।

नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले लामो समयदेखि महत्त्वपूर्ण साझेदारका रूपमा योगदान गर्दै आएको उल्लेख गर्दै उनले सन् १९५४ को मलेरिया नियन्त्रण कार्यक्रम, सन् १९५८ को राष्ट्रिय मलेरिया उन्मूलन कार्यक्रम, सन् १९६२ देखि सञ्चालनमा रहेको पिस कर्प्स स्वयंसेवक कार्यक्रम तथा फुलब्राइट कार्यक्रमलाई दीर्घकालीन सहकार्यका उदाहरणका रूपमा प्रस्तुत गरे।

सन् २०१५ को विनाशकारी भूकम्पपछि अमेरिकाले गरेको मानवीय सहायता तथा पुनर्निर्माण सहयोगको स्मरण गर्दै उनले पछिल्लो समय स्वच्छ ऊर्जा प्रसारण संरचना र सडक सम्पर्कलगायत उच्च प्रभावका पूर्वाधार क्षेत्रमा समेत सहकार्य विस्तार हुँदै गएको बताए। अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव संवैधानिकता, प्रतिनिधिमूलक शासन र मानव मर्यादाप्रतिको साझा प्रतिबद्धता स्मरण गर्ने अवसर भएको मन्त्री खनालले बताए।

सुझावित समाचार