लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारका तीनजना नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित थारू र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कृष्णाकुश्मा थारूले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।

मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँण केसी, पूर्वमुख्यमन्त्री जोखबहादुर महरालगायतको विशेष उपस्थितिमा मंगलबार शपथग्रहण समारोह आयोजना गरिएको थियो। प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

मन्त्रिपरिषद् पुनर्गठनसँगै तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। त्यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चारजना, नेपाली कम्युनिस्ट पार्टीबाट तीनजना र जनता समाजवादी पार्टी नेपालबाट दुईजना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। केन्द्रमा आएको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीसँग सत्तासाझेदारी अघि बढेको हो।

सुझावित समाचार