ग्यास अभाव बढेपछि हिले र पाख्रीबासका डिलरमा अनुगमन

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

खाना पकाउने ग्यासको अभाव र बढी मूल्यमा बिक्री भइरहेको जनगुनासो बढेपछि धनकुटाको हिले र पाख्रीबास बजारमा सञ्चालित ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त टोलीले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको हो । बजारमा ग्यासको अभाव तथा बढी मूल्यमा बिक्री भइरहेको गुनासो आएपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए ।

अनुगमनका क्रममा कतिपय डिलरमा मागको तुलनामा कम मात्र ग्यास आपूर्ति भएका कारण समस्या देखिएको पाइएको छ । प्रशासनले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर बिक्री नगर्न तथा ग्यास आएपछि प्रशासनलाई जानकारी गराई बिक्रीको अभिलेख बुझाउन डिलर सञ्चालकलाई निर्देशन दिएको छ ।

डिलर सञ्चालकहरूले भने कम्पनीबाटै मागअनुसार ग्यास आपूर्ति नभएकाले सबै ग्राहकलाई पर्याप्त ग्यास उपलब्ध गराउन नसकिएको बताएका छन् । पाख्रीबासका ग्यास विक्रेता जीवन श्रेष्ठले कम्पनीबाट कम ग्यास आएकाले मागअनुसार वितरण गर्न समस्या भएको बताए ।

अनुगमन टोलीले डिलरबाट मात्रै ग्यास बिक्री गर्न र एक परिवारलाई एकवटा मात्र सिलिन्डर उपलब्ध गराउन निर्देशन दिएको छ । डिलरबाट सहज रूपमा ग्यास नपाउँदा किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास किन्न बाध्य भएको उपभोक्ताहरूले गुनासो गरेका छन् ।

प्रशासनले ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न, आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण नगर्न तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउनसमेत निर्देशन दिएको छ ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपाने, जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी हेमन्त भण्डारी क्षेत्रीलगायतको सहभागिता रहेको थियो ।

सुझावित समाचार