मदन भण्डारी मेमोरियल कलेज (एमबिएमसी)ले शनिबारदेखि दुईदिवसीय आन्तरिक ह्याकाथन ‘एमबिएमसी ह्याकफेस्ट–२०२६’ आयोजना गर्दै छ।
‘सोच्नुहोस्, नवप्रवर्तन गर्नुहोस् र निर्माण गर्नुहोस्’ भन्ने नाराका साथ नवप्रवर्तनका अनेक विषयवस्तुमा आयोजना हुने यस कार्यक्रमको सुरुवात शनिबार बिहान कलेजको सभाहलमा हुनेछ। आइतबार यो कार्यक्रम समापन हुने कलेजले बताएको छ।
शनिबार दर्ता, औपचारिक स्वागत समारोह, राष्ट्रिय गान, पञ्चदीप प्रज्वलन र प्रमुख अतिथिको मन्तव्यपछि नियमावली र आचारसंहिताको जानकारीसहित ह्याकाथन औपचारिक रूपमा सुरु हुनेछ। पहिलो दिन प्रतियोगीहरूले चारवटा विकास सत्रमा काम गर्नेछन्।
दोस्रो दिन बिहान थप दुईवटा विकास सत्र सञ्चालन हुनेछन्। त्यसपछि निर्णायक चरणअघि प्रस्तुतीकरण तयारी र अन्तिम मार्गदर्शन (मेन्टरिङ)का लागि विशेष सत्र राखिएको छ। दिउँसो दुई चरणमा निर्णायक मूल्यांकन हुनेछ। त्यससपछि मेन्टर तथा निर्णायकहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिनेछ।
विजेता घोषणा र चेक तथा प्रमाणपत्र वितरणसँगै समापन मन्तव्यबाट कार्यक्रमको समापन हुनेछ। आन्तरिक ह्याकाथनको रूपमा आयोजना हुने एमबिएमसी ह्याकफेस्ट–२०२६ मा कलेजका विभिन्न कार्यक्रमका विद्यार्थीको सहभागिता रहनेछ।