अख्तियार त्रास सिर्जना गरेर पगरी गुथ्ने संस्था हुनुहुँदैन : कानुनमन्त्री गौतम

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

कानुनमन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र, निष्पक्ष र प्रमाणमा आधारित भएर काम गर्ने संस्था हुनुपर्ने बताएकी छिन्।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले संवैधानिक निकायको सम्मान गर्दै सरकार भ्रष्टाचार नियन्त्रणप्रति पूर्ण प्रतिबद्ध रहेको बताइन्। उनले अख्तियारलाई बलियो बनाउनुपर्नेमा कुनै द्विविधा नरहेको स्पष्ट पारिन्।

तर, अख्तियारको संस्थागत शक्ति त्रास सिर्जना गरेर प्रदर्शन गर्नेभन्दा निष्पक्षता, व्यावसायिकता र सुशासन कायम गर्ने क्षमताबाट स्थापित हुनुपर्ने उनको भनाइ छ।

‘संस्थाको बल त्रास सिर्जना गरेर हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकदम बलियो छौँ भनेर त्यो पगरी गुथ्ने संस्था हुनुहुँदैन,’ उनले भनिन्, ‘निष्पक्षता, व्यावसायिकता र सुशासन कायम गर्नका लागि, अझ भनौँ प्रमाणका आधारमा अनुसन्धान र अभियोजन हुन्छ भन्ने एउटा विश्वास जगाउने संस्था हुनुपर्छ।’

भ्रष्टाचार गर्नेहरू अख्तियारसँग डराउनुपर्ने भए पनि इमानदार कर्मचारीमा भने त्रासको वातावरण सिर्जना हुन नहुने मन्त्री गौतमले बताइन्। उनका अनुसार कतिपय अवस्थामा कर्मचारीतन्त्रले निर्णय लिन र काम गर्न हिच्किचाउँदा सरकार नै अनिर्णयको बन्दी बन्ने अवस्था देखिएको छ।

सुझावित समाचार