बजारमा अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अन्डाको समर्थन मूल्य बढाएको हो।
चितवनलाई आधार मानेर संघले निर्धारण गरेको नयाँ मूल्यअनुसार एक्सएल आकारको अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ। त्यस्तै, ठुलो अन्डा ५७५ रुपैयाँ र मिडियम अन्डा ५३५ रुपैयाँ प्रतिक्रेट कायम गरिएको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी तीन हजार दुई सय रुपैयाँ तोकिएको छ।
संघले यसपटक सबै मुख्य आकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले वृद्धि गरेको हो। यसअघि ३० साउनदेखि एक्सएल अन्डाको मूल्य ५७५, ठुलोको ५६० र मिडियमको ५२० रुपैयाँ तोकिएको थियो।
साउनयता अन्डाको मूल्यमा भएको यो पाँचौँ संशोधन हो। साउनको सुरुवातमा एक्सएल अन्डाको फार्म समर्थन मूल्य प्रतिक्रेट ५२५ रुपैयाँ थियो। साउनको अन्त्यसम्म उक्त मूल्य बढेर ५७५ रुपैयाँ पुगेको थियो। भदौ सुरु भएसँगै थप १५ रुपैयाँ बढाएर ५९० रुपैयाँ कायम गरिएको हो।
व्यवसायीहरूका अनुसार उत्पादन घटेका कारण अन्डाको आपूर्ति र मागबिच असन्तुलन बढेको छ। बर्डफ्लु संक्रमणका कारण ठुलो संख्यामा कुखुरा नष्ट गर्नुपरेपछि अन्डा उत्पादनमा उल्लेख्य कमी आएको उनीहरूको दाबी छ।
उत्पादन घटेसँगै बजारको मागअनुसार अन्डा आपूर्ति गर्न कठिन भएको र त्यसकै प्रभावस्वरूप समर्थन मूल्य बढाउनुपरेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ।