नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। सभामुख भीमबहादुर भण्डारीले लामो समयदेखि प्रदेश सभा बैठकमा अनुपस्थित देउवालाई पदमुक्त गर्ने निर्णय मंगलबार गरेका हुन्।
देउवा करिब ११ महिनादेखि अमेरिकामा बस्दै आएका छन्। उनी जेन-जी आन्दोलनलगत्तै अमेरिका गएका थिए। प्रदेश सभा सचिवालयका अनुसार देउवालाई पदबाट हटाउने निर्णयको जानकारी सभामुख भण्डारीले बुधबार बस्ने प्रदेश सभा बैठकलाई गराउनेछन्।
गत वर्षको १५ साउनमा बसेको प्रदेश सभा बैठकमा उपस्थित देउवा प्रदेश सभाका त्यसपछिका २८ वटा बैठकमा अनुपस्थित छन्। प्रदेश सभा सचिवालय सचिव देवबहादुर बोगटीका अनुसार लगातार १० वटाभन्दा बढी बैठकमा विनाजानकारी अनुपस्थित भएकाले संविधानको धारा १८० को ‘घ’ अनुसार सभामुखले देउवालाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।
सभालाई जानकारी नदिएर १० वटा बैठकमा अनुपस्थित भए पदमुक्त हुने व्यवस्था संविधान र प्रदेश सभा नियमावलीमा रहेको बोगटीले जानकारी दिए। लगातार सातवटा बैठकमा अनुपस्थित भएपछि देउवाले गत २३ चैतमा सभामुखलाई पत्र पठाउँदै आफू व्यक्तिगत कामले अमेरिका आएको र त्यहाँ रहँदा स्वास्थ्यमा समस्या देखिएका कारण बैठकमा उपस्थित हुन नसकेको तथा २४ चैतको बैठकमा पनि उपस्थित हुन नसक्ने जानकारी गराएका थिए।
२४ चैतपछिका २२ वटा बैठकमा पनि देउवा अनुपस्थित रहे। ‘चैत २४ गतेको बैठकमा उपस्थित हुन नसक्ने भनेर सभामुखलाई उहाँले पत्र पठाउनुभएको थियो। तर, त्यसपछिका २२ वटा बैठकमा पनि उहाँ उपस्थित हुनुभएन। अनुपस्थितिको कारणबारे पनि जानकारी दिनुभएको छैन,’ सचिव बोगटीले भने।
देउवा कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए। उनी कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा हुन्।