गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय, प्रदेश र संघ सरकारसँग जोडिएका विभिन्न विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्।
मुख्यमन्त्री पाण्डेले सोमबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीलाई भेटेर दुम्किबासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग, अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्र, फेवातालको अतिक्रमित संरचना हटाउने र मुआब्जा वितरण, नापी तथा दर्ता, औद्योगिक क्षेत्र निर्माण, खानेपानी र सडकका अधुरा आयोजनाहरू, त्रिवेणी, कोरोला र रुइला नाका, कानुन कार्यान्वयन, सञ्चारमाध्यमको दर्ता, नवीकरण र आमसञ्चारमाध्यमको इजाजतपत्रलगायतका विभिन्न विषयहरू समेटेर नौबुँदामा ध्यानाकर्षणपत्र बुझाएका हुन्।
भेटका क्रममा भएको छलफलमा प्रधानमन्त्रीले गण्डकी सरकारका तर्फबाट गराइएको ध्यानाकर्षणप्रति सकारात्मक प्रतिक्रिया दिँदै कानुन निर्माण गर्नुपर्ने सन्दर्भमा कानुनी सहजीकरण गर्ने र संघ सरकारले नीतिगत निर्णय लिने विषयमा पनि समन्वय गर्ने बताएका मुख्यमन्त्री पाण्डेले बताए।