पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीले कांग्रेसको भावी राजनीतिमा कस्तो प्रभाव पार्छ ?
जेन–जी आन्दोलनमा घाइते भएर उपचारका लागि विदेश गएका शेरबहादुर देउवा आफ्नो देश फर्किनु अनौठो होइन । विगतमा पार्टीमा कार्यवाहक दिएर आफू सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका देउवालाई सक्रिय बनाउन लागिपरेको समूह नै अहिले पनि उनलाई सक्रिय गराउन लागिपरेको छ । स्वदेश फर्किएपछि चुनदेवीको बार्दलीबाट जंगिएर देउवाले यही संकेत गरेका छन् । एकढिक्का भएर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने समयमा कांग्रेस अहिले फुटको संघारमा पुगेको छ । यस्तो अवस्थामा देउवा फर्किएपछि अभिभावकीय भूमिका निर्वाह गरेर एकताका लागि पहल गरेको भए पार्टीले सकारात्मक दिशा लिने थियो । तर, परिस्थिति त्यस दिशामा जाने सम्भावना देखिन्न ।
देउवा समूहले राष्ट्रिय भेलाबाट के सन्देश दिन खोजेको होला ?
यो भेलाले कांग्रेसको संस्थापनइतर समूह पनि एउटा शक्ति हो, उसको पक्षमा पनि जनमत छ भन्ने संकेत गरेको छ । कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी मुद्दाले पुनरवलोकनको निस्सा पाएको अवस्थामा अदालतले पुरानै संस्थापनलाई सहज हुने फैसला गरिदियो भने यो भेलाको थप अर्थ होला, अन्यथा खासै ठुलो प्रभाव पर्ला जस्तो लाग्दैन ।
सर्वोच्चको निस्सा, राष्ट्रिय भेला र देउवाको स्वदेश फिर्तीपछि कांग्रेस एक भएर जाने सम्भावना कति देख्नुहुन्छ ?
जेन–जी आन्दोलनपछि आमजनताले राजनीतिक दलहरूमा ‘प्याराडाइम सिफ्ट’ खोजेका छन् । उनीहरूले राजनीतिक नेतृत्वमा नयाँपन, सुशासन र पारदर्शिता चाहेका छन् । एउटै व्यक्तिबाट शासित हुनुपर्ने अवस्था नदोहोरियोस् भन्ने पनि उनीहरूको चाहना छ । यस्तो अवस्थामा पार्टीभित्र विशेष महाधिवेशनले ल्याएको पुस्तान्तरणलाई अस्वीकार गरेर आयोजना गरिएको राष्ट्रिय भेलामा नेताहरूले भविष्यमा एकै ठाउँमा बस्नुपरेको अवस्थामा असहज हुने गरी व्यक्तिविरुद्ध गालीगलोजमा नउत्रिदिएको भए राम्रो हुन्थ्यो । यो गालीगलोजले एकताको माहोल थप बिगार्न सक्छ ।