मुस्ताङमा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका शंकास्पद आठवटा कन्टेनरसहित प्रहरीले आठ जना चालकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित पर्यटक चेकपोस्टमा बुधबार दिउँसो करिब १२ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा विभिन्न कन्टेनरका कागजपत्र जाँच तथा चालकसँग सोधपुछ गरेको थियो।
जाँचका क्रममा कन्टेनरहरू भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएपछि कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशंकामा प्रहरीले ती सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा ना.६ ख ४७४१ का चालक धादिङ थार्के गाउँपालिका–२ का ३० वर्षीय ईश्वर थापा, को.१ ख ५६९६ का चालक दोलखा शैलुङ गाउँपालिका–३ का ४३ वर्षीय रत्नबहादुर तामाङ, बा.प्र.०१००६ ख २२४८ का चालक दोलखा भीमेश्वर नगरपालिका–८ का २९ वर्षीय उद्धव बस्नेत र बा.प्र.०१००६ ख ६२७३ का चालक पाल्पा तानसेन नगरपालिका–८ का ३६ वर्षीय धर्मबहादुर नेपाली छन्।
त्यस्तै, ना.३ ख ७१६० का चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३५ वर्षीय कर्म शेर्पा, ना.६ ख २०२२ का चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का ३३ वर्षीय निरोज नेपाली, बा.प्र.१००६ ख ६६११ का चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ का २३ वर्षीय विशाल तामाङ र बा.प्र.०१–००५ ख २२४५ का चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३६ वर्षीय गोपाल श्रेष्ठ रहेका छन्।
नियन्त्रणमा लिइएका आठवटै कन्टेनर र चालकलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ। कन्टेनरभित्र के–कस्ता वस्तु रहेका छन् भन्नेबारे राजस्व अनुसन्धान कार्यालयबाट थप जाँच तथा अनुसन्धान भइरहेको छ।