सुदूरपश्चिमका चार अस्पताललाई विश्वविद्यालयको प्रयोगात्मक कक्षा सञ्चालन गर्न दिइने

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमातहतका चारवटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, लम्की प्रादेशिक अस्पताल र टीकापुर अस्पताल तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो । 

विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनको प्रक्रियाका लागि यस्तो निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सञ्चालनको क्रममा रहेको कैलालीको गेटास्थित सहिद दशरथ चन्द विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने तयारी गरेको छ । 

चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न तीन सय शय्याको शिक्षण अस्पताल तीन वर्ष सञ्चालन भएको हुनुपर्छ । सोही मापदण्ड पूरा गर्न अहिले प्रदेशका अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न खोजिएको विश्वविद्यालयले जनाएको छ ।    

गेटामा अहिले ५० शय्यामा अस्पताल सञ्चालनमा छ । सेती, महाकाली र लम्कीचुहा ५०–५० शय्या तथा टीकापुर अस्पताल ५१ शय्या सञ्चालनको स्वीकृत दरबन्दी छ । सेतीमा अस्पताल विकास समितितर्फ थप ७५ शय्या र महाकालीमा ५० शय्या सञ्चालन भइरहेको छ । 

यसै आर्थिक वर्षमा तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने विश्वविद्यालयको योजना छ । त्यसका लागि सरकारले विश्वविद्यालयलाई यस वर्ष साढे दुई अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । ‘विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालनको मापदण्ड पुगोस् भनेर शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने निर्णय गरेका हौँ,’ प्रदेशका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले भने । सम्बन्धित निकायसँग आवश्यक सम्झौता गर्ने तथा कानुनी र प्रशासनिक प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।

गेटामा यसै शैक्षिक सत्रबाट १२० जना विद्यार्थीका लागि एमबिबिएस, बिएससी नर्सिङ, बी अप्टोमेट्री र बिएस्सी एमएलटीको पठनपाठन सुरु गर्ने तयारी छ । त्यसका लागि शैक्षिक तथा प्रशासनिक जनशक्ति व्यवस्थापनको काम भइरहेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले चारजना प्राध्यापक र १३ जना सहप्राध्यापक छनोट गरिसकेको छ भने थप ६० जना सहायक प्राध्यापक छनोटको प्रक्रिया भइरहेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनीलकुमार जोशीले चिकित्सा शिक्षा पठनपाठन र शिक्षण अस्पताल सञ्चालनको तयारी सँगसँगै अगाडि बढिरहेको बताएका छन् । उनले छिट्टै तीन सय शय्यामा शिक्षण अस्पताल सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । डा. जोशीका अनुसार अस्पतालको शय्या व्यवस्थापनका लागि धनगढीको होल्डिङ सेन्टरमा प्रयोगविहीन ‘बेड’ ल्याउन प्रक्रिया अगाडि बढाइएको छ ।

सुझावित समाचार