कञ्चनपुरमा गैरकानुनी रूपमा भारतबाट व्यक्तिले खरिद गरेर ल्याएका ‘इलेक्ट्रिक स्कुटर’ जफत गरिएको छ। दुई सातादेखि सशस्त्र प्रहरी र नेपाल प्रहरीले गड्डाचौकीसहित जिल्लाका विभिन्न खुला नाकाहरूबाट नेपाल भित्र्याइएका स्कुटर जफत गरिरहेका छन्।
यातायात व्यवस्था विभागले २० जेठ ०७६ मा ट्राफिक प्रहरीसहितका निकायलाई पत्राचार गर्दै इलेक्ट्रिक स्कुटर विनादर्ता सडकमा गुडिरहेकाले यातायात व्यवस्था ऐनको दफा १६० को उपदफा (२)को खण्ड (ख) बमोजिम कार्बाही गर्न निर्देशन दिएको थियो।
सवारी तथा यातायात व्यवस्था ऐन, ०४९ को दफा १४ को उपदफा (१) अनुरूप कुनै पनि सवारीसाधन खरिद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनी वा एजेन्टले सवारी खरिद गरेका वा पैठारी गरी नेपाल ल्याएको मितिले १५ दिनभित्र दर्ता गराउनुपर्ने प्रावधान छ। तर, कञ्चनपुरमा लामो समयदेखि धमाधम भारतबाट इलेक्ट्रिक स्कुटर आयात गरेर विनादर्ता बिक्री-वितरण भइरहेको छ। यातायात व्यवस्था विभागले परिपत्र जारी गरेको ७ वर्षपछि कञ्चनपुरमा सशस्त्र प्रहरीले त्यस्ता स्कुटर जफत गर्दै भन्सारलाई बुझाइरहेको छ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले विभिन्न नाकाहरुबाट बरामद गरेका इभी स्कुटर कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइरहेका छन्। एक महिनाको अवधिमा कञ्चनपुरबाट झन्डै १२ अवैध स्कुटर जफत भएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका गणपति (एसपी) प्रेम प्रकाश सिग्देलले बेलौरीबाट ३ र गड्डाचौकीबाट ९ स्कुटर बरामद गरेर भन्सारमा बुझाएको बताए।
कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टले भन्सार राजस्व चोरीछली गरेर भित्र्याउन लागिएको स्कुटर बरामद गरिएको बताउँदै बरामद गरिएका स्कुटरलाई प्रकृया पुर्याएर लिलाम गरिने जानकारी दिए। ‘यातायातले भन्सार प्रज्ञापनसहित मात्रै दर्ता गर्छ,’ उनले भने, ‘भारतबाट एक-एक व्यक्तिले खरिद गरेर ल्याएका इभी पनि दर्ता हुँदैनन्, कुनै सप्लार्यस वा फर्मले कानूनअनुरूप प्रकृया पुर्याए मात्रै दर्ता हुन्छन्।’
यातायात व्यवस्था कार्यालयका इन्जिनियर रविन चौधरीले हालसम्म २४ इलेक्ट्रिक स्कुटर दर्ता भएको बताए। उनका अनुसार गत वर्षदेखि कार्यालयमा एसपी मोटर्समार्फत आएका स्कुटर दर्ता गरिएका हुन्। ‘यो व्यवस्था पुरानै हो, जहिलेदेखि इभी सवारीसाधन नेपालमा भित्रिए त्यही समयदेखि हो,’ उनले भने, ‘उपभोक्तादेखि सरोकारवाला निकायले यसमा ध्यान नदिएकाले भारतबाट व्यक्तिगत रूपमा ल्याएर उपभोग गर्दै आएका थिए।’
यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका प्रमुख कुमार नेपालीले यसअघि भित्रिएका सवारीसाधनको हकमा कुनै विकल्प खोजिने र बाँकी नयाँ आउन नदिने भएपछि अब दर्ता प्रक्रियामा लैजान सकिने बताए। ‘हामीलाई भन्सार प्रज्ञापनसहित प्रक्रियागत रूपमा आएका इभी दर्ता गर्दै आएका छौँ,’ उनले भने, ‘यातायातले सडकमा गुडिरहेको गाडी छोपेर दर्ता गर्ने कुरा भएन, यो त ट्राफिकको पनि काम हो।’