धार्मिक सहिष्णुताको पक्षमा गुञ्जिए कविता

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

वर्तमान कविता समूह र नेपाली लोकबाजा संग्रहालयको संयुक्त आयोजनामा ‘धार्मिक सहिष्णुता र वर्तमान कविता’ विषयक विशेष साहित्यिक गोष्ठी सम्पन्न भएको छ। लक्ष्मेश्वर मन्दिरपरिसरस्थित नेपाली लोकबाजा संग्रहालयमा आयोजित कार्यक्रममा धार्मिक सहिष्णुता, मानवता, सामाजिक सद्भाव र समकालीन यथार्थलाई केन्द्रमा राखेर कवितावाचन, विमर्श तथा सांगीतिक प्रस्तुति गरिएको थियो।

गोष्ठीमा अभय श्रेष्ठले ‘भिक्षुणी र रोगी युवक’, हरिहर तिमिल्सिनाले ‘मलाई थाहा भएको कुरा’, विश्व सिग्देलले ‘म एक थोक बनिनँ’, रजनीमिलाले ‘आफूभित्रको ईश्वरलाई जगाऊ’, रामगोपाल आशुतोषले ‘आगोलाई आगो हुन कसैको जरुरी हुँदैन’, राधिका कल्पितले ‘मार्ग अनेक, गन्तव्य एक’, रमी प्रियाले ‘मानिस र धर्म’, प्रज्वल अधिकारीले ‘खेलौना’, ईश्वरा शिवाले ‘ईश्वरको हिसाब’, चाचु ढुङ्गानाले ‘नारा’, विणा नेम्कुलले ‘सुन्दर बस्ती’, चन्द्रबहादुर लामाले ‘सहिष्णुताको शाश्वत नियम’, तीर्थराज भट्टले ‘के हामी पुनः बुद्ध बन्न सक्छौँरु’, प्रमोद स्नेहीले ‘धर्मयुद्ध’ तथा दीपक चौलागाईंले ‘मानिसको खोजी’ शीर्षकका कविता प्रस्तुत गरेका थिए। प्रसिद्ध गायक तथा संगीतकार शिशिर योगीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘दमाई दाइ’ लगायतका गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी कवि तथा वक्ताहरूले नेपालको तराई क्षेत्रमा धर्मका नाममा भइरहेका अराजक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै हिंसा, विभाजन र क्रूरताविरुद्ध मानवताको पक्षमा उभिन सबैलाई आग्रह गरेका थिए।

वर्तमान कविता समूहका एक सदस्य विश्व सिग्देलले वर्तमानका कुरूप पक्षमाथि कविहरूको निरन्तर प्रहार अपरिहार्य छ भन्दै समूहले ‘विस्फोटपछिको शून्यतामा आवाज’, ‘हरित कविता विशेष’, ‘शान्तिका कविता’ र ‘भुइँमान्छेका कविता’लगायतका कार्यक्रममार्फत समकालीन सामाजिक मुद्दामा निरन्तर साहित्यिक हस्तक्षेप गर्दै आएको बताए।

कार्यक्रमपछि सहभागीहरूले नेपाली लोकबाजा संग्रहालयको अवलोकन गरेका थिए। संग्रहालयका संस्थापक रामप्रसाद कँडेलले साहित्य, कला र संगीत समाज रूपान्तरणका महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै वर्तमान कविता समूहसँगको सहकार्यमा अब प्रत्येक महिना नियमित साहित्यिक कार्यक्रम आयोजना गरिने जानकारी दिए।

सुझावित समाचार