जिल्ला प्रहरी कार्यालय सल्यानले कार्यसम्पादन मूल्यांकनमा उल्लेखनीय सुधार गर्दै देशभरका ‘घ’ वर्गअन्तर्गतका २५ जिल्ला प्रहरी कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको छ।नेपाल प्रहरीको २०८३ साल असार महिनाको कार्यसम्पादन प्रगति विवरअनुसार जिल्ला प्रहरी कार्यालय सल्यान उत्कृष्ट अंकसहित पहिलो भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
केही महिनाअघि १९औँ स्थानमा रहेको सल्यान प्रहरीले निरन्तर कार्यसम्पादनमा सुधार गर्दै छोटो अवधिमै शीर्ष स्थान हासिल गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए । कार्यसम्पादन मूल्यांकनअनुसार वैशाख महिनामा १९औँ स्थानमा रहेको सल्यान प्रहरी जेठ महिनामा दोस्रो स्थानमा उक्लिएको थियो । त्यसको निरन्तरतास्वरूप असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्दै पहिलो स्थान हासिल गरेको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सल्यानले अपराध नियन्त्रण, शान्ति सुरक्षा, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण, राजस्व असुली, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, सेवा प्रवाह तथा समग्र प्रहरी गतिविधिमा हासिल गरेको प्रगतिका आधारमा उत्कृष्ट अंक प्राप्त गरेको जनाइएको छ ।
जिल्लामा शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै अवैध गतिविधि नियन्त्रण, समुदायसँगको सहकार्य र सेवा प्रवाहलाई प्राथमिकतामा राखिएकाले कार्यसम्पादनमा प्रथम स्थान हासिल गर्न सफल भएको भट्टराईको भनाइ छ ।
‘घ’ वर्गअन्तर्गतका जिल्ला प्रहरी कार्यालयको मासिक कार्यसम्पादन मूल्यांकनमा पहिलो स्थान हासिल गर्नु सल्यान प्रहरीका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख दीपक पातलीले जानकारी दिए।
सफलताले जिल्लामा शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरी कर्मचारीको मनोबल थप उच्च बनाउनुका साथै नागरिकलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न प्रेरणा मिलेको उनको भनाइ छ ।