मेची राजमार्गको इलामखण्ड चाँडो स्तरोन्नति गर्न कोशीका उद्योगी–व्यवसायीको माग

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

पूर्वमा कृषि र पर्यटन विकासका लागि जीवनरेखा मानिएको मेची राजमार्गको इलामखण्ड तुरुन्त स्तरोन्नति गर्न उद्योगी–व्यवसायीले  माग गरेका छन् । 

कोशी प्रदेशको प्रमुख जीवनरेखा मेची राजमार्गअन्तर्गत इलामखण्डको अवस्था अत्यन्त जीर्ण हुँदा व्यापार, पर्यटन, कृषि तथा समग्र आर्थिक गतिविधिमा असरपरेको भन्दै चाँडै स्तरोन्नति गरेर आवतजावत सहज बनाउन सरकारसँग उद्योगी–व्यवसायीले  माग गरेका हुन् ।  

कोशी उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने उक्त सडक स्तरोन्नतिमा ढिलाइ हुँदा  कोशी प्रदेशको व्यापार, पर्यटन, कृषि तथा समग्र आर्थिक गतिविधि असर परेको बताए ।  

अध्यक्ष राउतका अनुसार प्रमुख जीवनरेखा मानिएको उक्त  सडकको दुरवस्थाका कारण उद्योग–व्यवसाय प्रत्यक्ष प्रभावित हुनुका साथै ढुवानी लागत अस्वाभाविक रूपमा बढेको, पर्यटक आगमनमा कमी आएको र कृषिजन्य उत्पादन समयमै बजारसम्म पुर्याउन नसक्दा किसान तथा व्यवसायीले ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको  छ ।

मेचीको पहाडी क्षेत्रमा उत्पादन हुने  चिया, अलँची, अदुवा, दुध, फलफूल तथा तरकारीलगायतका उत्पादनको ढुवानी प्रभावित हुँदा पूर्वी पहाडी जिल्लाको अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ । 

इलाम–पाँचथर–ताप्लेजुङ सडक सञ्जालको निर्माण तथा स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखी आवश्यक बजेट, स्रोत–साधन र जनशक्ति परिचालन गरेर युद्धस्तरमा काम अघि बढाउन सरकारले प्राथमिकतसहित चासो दिनुपर्ने अध्यक्ष राउतले बताएका छन् । 

कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राजेन्द्र राउत सरकारलाई आग्रह गर्दै भन्छन्,  ‘पूर्वी पहाडको आर्थिक जीवनसँग प्रत्यक्ष जोडिएको यो सडकको सुधारमा अब सरकारले आश्वासनभन्दा पनि व्यावहारिक परिणाम देखिने गरी काम गर्नुपर्नेछ । ढिलाइ भएमा  प्रदेशको आर्थिक गतिविधि, पर्यटन र कृषि क्षेत्रमा थप नकारात्मक असर पर्ने निश्चित छ ।’ 
 

सुझावित समाचार