बिचौलिया दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धितोपत्र तथा बिमासम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश भएको छ। जिल्ला अदालत, काठमाडौंले बिहीबार साता लामो सुनुवाइपछि थुनछेक आदेश दिएको हो।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमासम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो।
त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग भएको छ ।
नक्कली अशंबन्डा गरेर हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्री गरेको अर्काे मुद्दामा सुलभसँग अदालतले दुई करोड ३० लाख धरौटी माग गरेको छ।
धरौटी माग भए पनि उनीहरू तत्काल रिहा भने हुने छैनन्। सम्पत्ति शुद्धीकरणको कसुरमा यसअघि विशेष अदालतले उनीहरूलाई पुर्पक्षमा थुनामा पठाएको थियो। उनीहरूविरुद्ध बिहीबार एमाले नेता विष्णु पौडेलसँग जोडिएको कारोबारमा पनि छुट्टै मुद्दा दायर भएको छ।