- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा अध्ययनको तयारी भइरहेका वेला मन्त्रिपरिषद्ले शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति दिएसँगै तीन दशकको पर्खाइ भयो साकार
कैलालीको गेटामा मेडिकल कलेज सञ्चालन गर्ने तीन दशकअघिको सपना सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा साकार भएको छ । चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने तयारी रहेकामा विश्वविद्यालयमातहत शिक्षण अस्पताल सञ्चालन हुने भएको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बताए । यो नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय हो ।
गेटामा हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत ५० शय्याको अस्पताल सञ्चालन भइरहेको छ । शिक्षा मन्त्रालयले गेटासँगै धनगढीमा रहेको सेती प्रादेशिक र टीकापुर अस्पताललाई मर्ज गरेर तीन सय शय्यामा शिक्षण अस्पताल चलाउने तयारी गरेको छ । ‘शिक्षण अस्पतालका लागि कम्तीमा तीन सय शय्या चाहिन्छ । गेटामै ६ सय शय्यासम्म चलाउन सकिने भौतिक पूर्वाधार त छ । तर, तत्कालै जनशक्ति, उपकरणसहित व्यवस्थापन गर्न गाह्रो हुन्छ । बरू चलिरहेका सेती र टीकापुरलाई गाभेर तीन सय शय्या पुर्याउने भनिएको छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारले पनि ती दुई अस्पताल विश्वविद्यालय–अन्तर्गत चलाउन दिन्छौँ भनिसकेको छ ।’
सरकारको निर्णयसँगै विश्वविद्यालयको शिक्षण अस्पताल बनाउने कार्य अघि बढेको शिक्षा मन्त्रालयका प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा प्रमुख चन्द्रकान्त भुसालले बताए । ‘विगतमा स्वास्थ्य मन्त्रालयअन्तर्गत अस्पताल चलिरहेको थियो । अब अस्पताल विश्वविद्यालयमातहत आएको छ । अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा थप विकास गर्नुपर्छ,’ उनले भने ।
गेटामा पूर्वाधार निर्माण सम्पन्न भएर लामो समयदेखि चिकित्सा शिक्षाको पठनपाठन र अस्पताल सञ्चालनको पर्खाइ थियो । सरकारले शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेसँगै विश्वविद्यालय सञ्चालनको अन्योलता अब हटेको विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन विगतमा गठन भएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले बताए ।
‘शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय हाम्रा लागि खुसीको कुरा हो,’ उनले भने, ‘विश्वविद्यालय सञ्चालनको अन्योलता हटेको छ । सरकारले अब जतिसक्दो छिटो पदाधिकारी नियुक्त गर्नुपर्छ ।’ उपकुलपति र रजिस्ट्रार नियुक्त गरेर शैक्षिक जनशक्ति पदपूर्ति तथा शैक्षिक कार्यक्रम सञ्चालनको तयारीलाई तीव्र रूपमा अगाडि बढाउनुपर्ने उनले बताए ।
वरिष्ठ चिकित्सक डा. गणेशबहादुर सिंहले शिक्षण अस्पताल सञ्चालनको निर्णयले गेटामा छिट्टै चिकित्सा शिक्षा पठनपाठन हुने आशा पलाएको बताए । उनले शिक्षण अस्पताल सञ्चालन भए सुदूरपश्चिममा स्वास्थ्य उपचार सुविधामा पहुँच पुग्ने बताए । ‘उपचार सेवामा ठुलो परिवर्तन आउँछ, नागरिकले यहीँ स्तरीय सुविधा पाउँछन्,’ लामो समय तत्कालीन सेती अञ्चल अस्पतालको मेसुका रूपमा काम गरेका डा. सिंहले भने, ‘विश्वविद्यालय सञ्चालन भए उपचार र स्वास्थ्य जनशक्ति उत्पादनमा मात्र नभई यहाँका सबै क्षेत्रले लाभ पाउँछ ।’
कैलाली ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले शिक्षण अस्पताल सञ्चालनको निर्णय शैक्षिक कार्यक्रम सञ्चालनका लागि महत्वपूर्ण भएको बताए । बजेट पनि विनियोजन भइसकेकाले यसै वर्ष तीन सय शय्याको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन हुने उनले बताए । ‘स्वास्थ्य र शिक्षामा सुदूरपश्चिम पछि परेको छ, अब गेटामा शिक्षण अस्पतालको अनुमति दिएसँगै यस क्षेत्रमा स्वास्थ्य जनशक्ति उत्पादन मात्रै नभएर गुणस्तरीय स्वास्थ्य सेवा पनि प्रवाह हुनेछ,’ चन्दले भने, ‘गेटाले सुदूरपश्चिम क्षेत्रमा सुलभ स्वास्थ्य सेवा मात्रै नभएर दक्ष मेडिकल जनशक्ति पनि प्रदान गर्दै त्यहाँका मानिसलाई उपचारका लागि काठमाडौं नै आउनुपर्ने बाध्यताको अन्त्य गर्नेछ ।’
गेटामा एमबिबिएस, बिएस्सी नर्सिङ, बिएस्सी एमएलटी र बी अप्टोमेट्रीको पठनपाठन सुरु गर्ने तयारी छ । सरकारले यसअघि चिकित्सा शिक्षा अध्ययनसहितका लागि आगामी वर्षका लागि दुई अर्ब ५४ करोड बजेट विनियोजन गरिसकेको छ । यद्यपि, सिट निर्धारण गर्न बाँकी छ । गेटामा ६ अर्ब ६४ करोड रुपैयाँको लागतमा अस्पताल र प्रशासनिक भवनलगायत संरचना पाँच वर्षअघि नै तयार छन् ।
गेटामा मेडिकल कलेजको अवधारणा ०६४/६५ मा आएको हो । सुदूरपश्चिम प्रदेशमा हालसम्म चिकित्सा शिक्षाको पठनपाठन हुने सरकारी र निजी क्षेत्रको एउटा पनि संस्था छैन । गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा उपचारका लागि भारतका अस्पताल वा काठमाडौं धाउनुपर्ने बाध्यता छ ।
६ अर्ब ६४ करोड रुपैयाँको लागतमा अस्पताल र प्रशासनिक भवनलगायत संरचना पाँच वर्षअघि नै तयार भएका थिए । तर, मेडिकल कलेज वा विश्वविद्यालय के बनाउने भन्ने विषयमा लामो समयसम्म निर्णय हुन सकेन । सरकारले माघ २०७९ मा सहिद दशरथ चन्द विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । विश्वविद्यालयसम्बन्धी ऐन संसद्बाट पारित भएसँगै ४ असार २०८२ मा राजपत्रमा प्रकाशित गरिएको थियो ।
अर्को साता पदाधिकारी नियुक्तिको तयारी, लगत्तै पदपूर्ति अगाडि बढ्ने
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्त गर्न आगामी साता सभा (सिनेट) बस्दै छ । सरकारले गत वैशाखमा राजनीतिक नियुक्ति अध्यादेशमार्फत खारेज गर्दा यहाँका पदाधिकारी पनि पदमुक्त भएका थिए । शिक्षा मन्त्रालय, प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा प्रमुख चन्द्रकान्त भुसालका अनुसार सर्च कमिटीले अन्तर्वार्ता र प्रस्तुतीकरणको काम सकेर प्रधानमन्त्रीसमक्ष तीनजनाको नाम सिफारिस गरिसकेको छ ।
‘अब सिनेटले नियुक्त गर्छ,’ उनले भने । गत २५ चैतमा बसेको सिनेटले एमबिबिएस, बिएस्सी नर्सिङ, बिएस्सी एमएलटी र बी अप्टोमेट्रीको पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । पठनपाठन सञ्चालन गर्न विश्वविद्यालयले अनुमति लिनेसँगै शैक्षिक जनशक्ति पदपूर्तिको प्रक्रिया अगाडि बढाइसके पनि पदाधिकारी नहुँदा रोकिएको थियो । विश्वविद्यालयका इन्जिनियर पवन रावलका अनुसार प्राध्यापकको अन्तर्वार्ता सकिएको छ भने उपप्राध्यापकको अन्तर्वार्ता बाँकी छ । फिजियोलोजी, प्याथोलोजी, इएनटी, जनरल सर्जरी, एनेस्थेरियोलोजी, इन्टरनल मेडिसिन, अप्थाल्मोलोजी, मेडिकल एजुकेसन, फार्माकोलोजीलगायत विषयका जनशक्ति पदपूर्ति हुन लागेको हो ।