लुम्बिनी प्रदेशमा बजेट विवादका कारण आज पनि प्रदेश सभा बैठक अवरुद्ध भएको छ। बैठकको सुरुमै विपक्षी दलले विरोध जनाउँदै बैठक वहिष्कार गरेपछि सभामुख तुलाराम घर्तीमगरले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
यहाँ प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा सत्तापक्षकै केही सांसदसहित प्रतिपक्षी सांसदहरू सुरुदेखि नै विरोधमा उत्रिँदै आएका छन्। आइतबार सभामुख घर्तीमगरले बैठक नियमित कार्यसूचीतर्फ लैजान खोज्दा विपक्षि सांसदहरूले विरोध जनाएपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक इन्द्रजित थारूलाई बोल्ने समय दिएका थिए। थारूले प्रदेश सभालाई हेपेर बजेट ल्याएको भन्दै बजेटलाई समर्थन गर्नै नसकिने धारणा राखे। लगत्तै विपक्षीहरूले बैठक बहिष्कार गरे।
यही असार ९ गते प्रदेश सभा बैठक बोलाइएकोमा सत्ता पक्षका सांसदहरूको विरोधपछि नियमित कार्यसूचीमा अघि बढ्न सकेको थिएन। त्यसयता बैठक नियमित हुन सकेको छैन। सहमतिका लागि सत्तापक्षका दलहरू कांग्रेस, एमालेले आन्तरिक छलफलदेखि बहुपक्षीय छलफल गर्दै आएका छन्। तर, अझै निकास निस्किन सकेको छैन।